अफ्रिकी टापु राष्ट्र माडागास्करमा जेनजी पुस्ताको आन्दोलन यति शक्तिशाली बन्यो कि देशका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भाग्न बाध्य भएका छन् ।
सेप्टेम्बर २५ बाट सुरु भएको सामान्य विरोध प्रदर्शनले केही हप्तामै राष्ट्रव्यापी रूप लिँदै भ्रष्टाचार र कमजोर शासनविरुद्धको लडाइँमा परिणत भएको थियो।
पलायनको पुष्टि र अनिश्चितता
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति राजोएलिनामा नै देश छाडेर भागेको पुष्टि सोमबार मात्र भयो। विपक्षी दलका नेताहरू, कूटनीतिज्ञ र सैन्य स्रोतहरूले उनको पलायनको पुष्टि गरेका छन् ।
विपक्षी दल नेता सिटेनी रान्द्रियनासोलोनियाइकोले राष्ट्रपति कार्यालयका कर्मचारीसँग सम्पर्क गर्दा उनी देशै छाडेर हिँडेको पत्ता लागेको बताए। राजोएलिनाले सोमबार राति फेसबुकमार्फत ज्यानको सुरक्षाका कारण सुरक्षित स्थानमा जानुपरेको बताए पनि आफ्नो ठेगाना भने खुलाएनन्, यद्यपि उनले देश नछाड्ने दाबी गरेका छन् । सैनिक अधिकारीहरूले उनी फ्रान्सेली सैन्य विमान चढेर भागेको र फ्रान्सेली रेडियो आरएफआईका अनुसार उनले फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंसँग पनि कुरा गरेको जनाएका छन् ।
सेनाको साथले बदल्यो सत्ताको समीकरण
जेनजी आन्दोलनलाई उत्कर्षमा पुर्याउन सेनाको विद्रोह निर्णायक बन्यो । राष्ट्रपति राजोएलिनालाई सन् २००९ को सत्तापलटमा साथ दिएको क्यापस्याट नामक विशेष सैन्य इकाईले गत हप्ता आन्दोलनकारीलाई समर्थन गर्ने र प्रदर्शनकारीमाथि गोली नचलाउने घोषणा गर्यो । त्यसपछि गजेन्डर्मी अर्धसैनिक बलका केही समूहले पनि आन्दोलनलाई साथ दिँदै नयाँ कमाण्डर नियुक्त गरेका थिए । सैन्य शक्तिको यो समर्थनपछि राजोएलिनाको सत्ता ढल्ने अवस्था आएको थियो।
संवैधानिक फेरबदल र निरन्तर विरोध
राष्ट्रपति देशबाट बाहिरिएपछि संविधानअनुसार सिनेट अध्यक्षले कार्यवाहक राष्ट्रपतिको भूमिका लिनेछन् । जेनजी आन्दोलनपछि सिनेटका अध्यक्षलाई पदमुक्त गरी जिन आन्द्रे न्द्रेमान्जारीलाई नयाँ कार्यवाहक अध्यक्ष नियुक्त गरिएको छ । राष्ट्रपतिले देश छाडे पनि माडागास्करमा आन्दोलन जारी छ। राजधानी अन्तानानारिभोमा हजारौं मानिसहरू भेला भएर राष्ट्रपतिको राजीनामा मागिरहेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार सेप्टेम्बर २५ देखि अहिलेसम्म आन्दोलनमा २२ जना मारिएका छन् । लगभग ३ करोड जनसंख्या भएको माडागास्करमा तीन चौथाइ जनता गरिबीको रेखामुनि जीवन यापन गरिरहेका छन् । रोयटर्सले माडागास्करको यो घटनालाई नेपाल र मोरोक्कोमा भएका जेनजी आन्दोलनसँग मिल्दोजुल्दो रहेको र जेनजी आन्दोलनका कारण कुनै देशको सरकार ढलेको यो दोस्रो घटना रहेको उल्लेख गरेको छ ।
















