Logo

२८ असोज, काठमाडौं । नेपालमा नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका तीन वटा दलसँग निर्वाचन आयोगले थप कागजातहरू माग गरेको छ।

योगमा दर्ताका लागि कुल चार वटा नयाँ दलले निवेदन दिएका थिए, जसमध्ये हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, र नेपाल नागरिक पार्टीसँग विवरण नपुगेको भन्दै थप कागजात मागिएको हो ।

दल दर्तामा देखिएका कमीहरु

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार दल दर्ताका लागि आवश्यक पर्ने विवरणहरूमा केही दलमा कमी देखिएको छ । श्रम संस्कृति पार्टी (हर्क साम्पाङ नेतृत्व) निर्वाचन आयोगले यो पार्टीको विधानको व्यवस्थाबारे थप स्पष्टीकरण माग गरेको छ । नेपाल नागरिक पार्टी र उज्यालो नेपाल पार्टीस् यी दुवै दलले ऐनअनुसार आवश्यक पर्ने पाँच सय जना मतदाताको प्रतिबद्धतापत्र र हस्ताक्षर पर्याप्त संख्यामा नबुझाएको पाइएको छ । उज्यालो नेपाल पार्टीकी कोषाध्यक्ष विमली तामाङले पाँच सय जनाको हस्ताक्षर नपुगेको र हस्ताक्षर गर्नेहरूले आयोगमा आएर सनाखत पनि गर्नुपर्ने जानकारी आएको बताइन्।

दल दर्ताका लागि कानूनी प्रावधान

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ अनुसार दल दर्ताका लागि दलको विधान, झन्डा र चिह्नको नमुना आवश्यक पर्छ भने कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र आवश्यक पर्नेछ । प्रतिबद्धतापत्र दिने व्यक्तिको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर र कम्तीमा २१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था हुनुपर्नेछ ।

आयोगले यही व्यवस्था अनुसार, निवेदन दिएका तीनै दलसँग आवश्यक ठानिएका थप विवरण तथा कागजात माग गरेको हो । यसबीच, जनमत पार्टी फुटेर दर्ता हुन पुगेको जनस्वराज पार्टीको दल दर्ता प्रक्रिया भने अगाडि बढेको निर्वाचन आयोगले जनाएको छ।


सम्बन्धित समाचार