Logo

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियानलाई तीव्रता दिएका छन् ।

सोमबार साँझसम्म २,४३९ जना प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको जानकारी प्राप्त भएको छ । पार्टीको १४औं महाधिवेशनमा कुल ४,७४३ प्रतिनिधि रहेकाले यस संख्याले ५१ प्रतिशतभन्दा बढीको बहुमत पुगिसकेको दाबी हस्ताक्षर संकलनको अगुवाइ गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यले गरेका छन् । उनले विदेशस्थित जनसम्पर्क समिति र जिल्लाहरूबाट हस्ताक्षर थपिने क्रम जारी रहेकाले यो संख्या ५५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको बताएका छन् ।

महामन्त्रीहरूको सक्रियता र आज केन्द्रीय समितिमा पेस गर्ने तयारी

विशेष महाधिवेशनको यो अभियानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियता रहेको छ। हस्ताक्षर संकलन कार्य पूरा भएपछि संकलित सम्पूर्ण विवरण मंगलबार पार्टीलाई औपचारिक रूपमा पेस गर्ने तयारी गरिएको छ । पार्टीको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। हस्ताक्षरहरू केन्द्रीय समिति बैठकअघि नै पेस गरिने नेता आचार्यले बताए ।

विधानमा के छ व्यवस्था ?

नेपाली कांग्रेसको विधान अनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले लिखित माग गरेमा पार्टीले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । नेतृत्वले मंसिरभित्र नियमित महाधिवेशनका लागि तयारी नगरे विशेष महाधिवेशन गर्ने दबाब सिर्जना गर्न महामन्त्री थापा र शर्माले यो हस्ताक्षर अभियानलाई तीव्र बनाएका हुन् ।


सम्बन्धित समाचार