Logo

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा निर्धारणकै विषयमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सहमति जुट्न सकेको छैन ।

महामन्त्रीहरूले तत्काल नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने अडान राख्दै केन्द्रीय समितिमा एजेन्डा पेस गर्न खोजे पनि सभापति देउवाले उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।

महाधिवेशन कार्यतालिका मुख्य विवाद

महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समितिको बैठकमा नियमित महाधिवेशनको कार्यतालिका एजेन्डाको रूपमा प्रस्तुत गर्ने प्रस्ताव देउवा समक्ष राखेका थिए । तर, देउवा निकट स्रोतका अनुसार मंगलबार बिहान भएको भेटमा सभापति देउवाले महामन्त्रीहरूको त्यो प्रस्ताव सिधै अस्वीकार गरिदिए । कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेमा ३ महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । यसअघि महामन्त्रीद्वयले सोही व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग गर्दै २,४३९ जना प्रतिनिधिको हस्ताक्षर संकलन गरेका थिए ।

सहमति नजुटेपछि बैठक स्थगित हुने तयारी

बैठकमा प्रस्तुत गरिने एजेन्डामा सहमति नजुटेका कारण मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित हुने तयारी छ । सभापति देउवा निकट नेताहरूका अनुसार, देउवाले बैठकमा आफ्नो वक्तव्य मात्र पढेर बैठक स्थगित गर्ने तयारी गरेका छन् । एजेन्डामा सहमति जुटाउन नेताहरूबीच अब अनौपचारिक छलफल गर्ने तयारी छ । सहमति जुट्न नसकेपछि आज बिहान ११ बजे बस्ने तयारी गरिएको कार्यसम्पादन समितिको बैठक पनि सुरु हुन सकेको छैन ।

सभापति देउवाले महामन्त्रीद्वयलाई महाधिवेशनका विषयमा सल्लाह गरेर मात्रै अघि बढ्न आग्रह गरेका थिए । एजेन्डा तय गर्न नसकिएपछि आजको बैठक स्थगित गरी अब बिहीबार केन्द्रीय समिति बैठक राख्ने तयारी भएको स्रोतले जनाएको छ ।

 


सम्बन्धित समाचार