२८ असोज, काठमाडौं । नेपालपछि अफ्रिकी मुलुक माडागास्करमा पनि ‘जेनजी आन्दोलन’को प्रभाव देखिएको छ। पानी र बिजुलीको अभाव विरुद्ध सुरु भएको जनआन्दोलनले सत्ता उल्ट्याउने दिशामा अघि बढेको छ। राष्ट्रपति एन्ड्री राजोलिना सेनाको समर्थन गुमाएपछि फ्रान्सेली सैन्य विमानमार्फत देश छाडेर भागेका छन्।
सेनाको समर्थन प्रदर्शनकारीलाई, राष्ट्रपति फरार
सेप्टेम्बर २५ देखि सुरु भएको विरोध प्रदर्शनले राष्ट्रव्यापी रूप लिएपछि आइतबार राजधानी एन्तानानारिभोमा सेनाको सबैभन्दा शक्तिशाली इकाई ‘क्यापस्याट’ प्रदर्शनकारीहरूमा सामेल भयो। यिनै विशेष इकाईले सन् २००९ मा राजोलिनालाई सत्तामा पुर्याएको थियो। अहिले सोही इकाईले उनको विपक्षमा मोर्चा खडा गरेको हो।
स्रोतका अनुसार राष्ट्रपति राजोलिना फ्रान्सेली कासा सैन्य विमान चढेर देश छोडेका हुन्। फ्रान्सेली रेडियो RFI का अनुसार राष्ट्रपति इमानुएल म्याक्रोनसँग पूर्वसम्झौता भएको दाबी गरिएको छ।
क्यापस्याटले अब सेना आफैंले सञ्चालन गर्ने घोषणा गर्दै नयाँ सेना प्रमुखको नियुक्ति गर्यो। रक्षा मन्त्री लेफ्टिनेन्ट जनरल साहिभेलो लाला मोन्जा डेल्फिनले सो प्रस्ताव अनुमोदन गरेका छन्। जेन्डरमेरी (अर्धसैनिक बल) का केही भाग पनि प्रदर्शनकारीहरूमा सामेल भइसकेका छन्।
राजीनामाको माग, सरकारविरुद्ध ऐक्यबद्धता
राजधानीको मुख्य चोकमा प्रदर्शनकारीहरूसँग सुरक्षाकर्मी स्वयं उभिएको दृश्यले आन्दोलनको बलियो पक्ष देखाएको छ। प्रदर्शनकारी र सैनिकहरूद्वारा सरकारलाई राजीनामा दिन माग गरिएको छ। राष्ट्रपति र उनका धेरै मन्त्रीहरूको ठेगाना अज्ञात रहेको बताइएको छ।
नेपाल र श्रीलंकाबाट प्रेरित यो आन्दोलन सामाजिक सञ्जालमार्फत संगठन गरिँदै आएको छ। ट्रेड युनियन, विद्यार्थी, नागरिक समाजलगायत सबै तहको सहभागिताले सरकारलाई नै चुनौती दिएको छ।
१९६० मा फ्रान्सबाट स्वतन्त्र भएदेखि माडागास्करमा लोकतान्त्रिक संस्थाहरू कमजोर रहँदै आएका छन्। विगतमा चार पटक कु भइसकेको देशमा यो पछिल्लो विद्रोह दीर्घकालीन अस्थिरताको सङ्केत मानिएको छ।
एन्तानानारिभो र एन्ट्सिराना शहरमा कर्फ्यू जारी छ भने विरोध अझै पनि व्यापक छ। २२ जनाको मृत्यु र सयौँ घाइते भएका छन्।
विश्लेषकहरू भन्छन् — “जेनजी आन्दोलन अब स्थानीय मुद्दामा सीमित रहेन, यो सरकारको वैधानिकता र जनउत्तरदायित्वमाथि गम्भीर प्रश्न बनेको छ।”















