Logo

तस्वीर ; AI

२८ असोज, चितवन। कालिका नगरपालिका–६ सिमलघारीमा सोमबार राति एउटा डरलाग्दो र रहस्यमय घटना घटेको छ। नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा प्रहरीको बर्दी लगाएका दुई जना अपरिचित व्यक्ति चोरीको उद्देश्यले प्रवेश गरेपछि स्थानीयमा सुरक्षा चिन्ता बढेको छ।

राति करिब १२ बजेतिर घटेको उक्त घटनामा घरधनीसँग प्रत्यक्ष सामना भएपछि ती व्यक्तिहरूले आफूलाई प्रहरी भएको र फरार कैदी खोज्दै आएको भन्दै उम्किएका थिए।

मध्यरातको डरलाग्दो सामना

खतिवडा नजिकैको आफन्तको घरमा क्रिकेट हेरेर फर्किँदा घरअगाडिको सडक बत्ती र आफ्नै घरको बत्ती निभाइएको देखेर उनी सशङ्कित बनेका थिए।
खतिवडाले भने, घर फर्किँदा सडक पोलको बत्ती निभेको रहेछ, घरअगाडिको बत्ती पनि कोहीले बन्द गरेको रहेछ। त्यसपछि मनमा डर लाग्यो।

त्यही क्रममा उनले आफ्नै घरको बार्दलीबाट एक अपरिचित युवकलाई आँगनमा झर्दै गरेको देखे। अत्तालिएका खतिवडालाई देखेपछि ती युवकले आफूलाई तत्काल प्रहरीको बर्दीमा प्रस्तुत गर्दै, यहाँ फरार कैदी लुकेको छ, कहाँ छ भनेर देखाउनुहोस् भन्दै उल्टै प्रश्न गरेका थिए।

केही बेरपछि ती युवक मोटरसाइकलमा रहेका अर्का साथीकहाँ पुगेका थिए। दुवै जनाले लोकेसनले फरार कैदी यही आसपास देखाएकाले खोज्दै आएको बताएर । उनीहरु हतियारजस्तो वस्तु बोकी घटनास्थलबाट भागेका थिए।

चोरीको तयारी पुष्टि

खतिवडाका अनुसार, घरअगाडिको बत्ती निभाइनु, झ्यालको पल्ला खोलिनु, मोटरसाइकलको ठाउँ सारिनु र जुत्ता तथा हेलमेट सडक किनारमा लगेर राखिनुले उनीहरू चोरीको पूर्ण तयारीमा आएको निश्चित भएको छ।

प्रहरीको पोशाक लगाएर आएका चोरहरुले मुखमा माक्स लगाएका थिए । राती भएकोले उनीहरुको अनुहार प्रष्ट चिन्न सक्ने अवस्थामा थिएन, खतिवाडाले भने ।

यस घटनाले चोरीको उद्देश्य स्पष्ट पारेको प्रारम्भिक निष्कर्ष निकाल्दै प्रहरीले जनाएको छ कि सोही राति खतिवडाका काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल समेत चोरी भएको पुष्टि भएको छ।

प्रहरीको भनाइ

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनास्थल निरीक्षण गर्दै भने, उनीहरू प्रहरी होइनन्, चोरीको उद्देश्यले आएका हुनसक्छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले घटनाको अनुसन्धान सबै कोणबाट भइरहेको र अहिले नै निष्कर्षमा पुग्न नसकिने बताएका छन्, तर फरार कैदीको सम्भावनालाई पनि नकार्न नसकिने जनाएका छन्।

देशभरका कारागारबाट कैदीबन्दी फरार हुने घटना बढिरहेका बेला, सिमलघारीमा प्रहरीको बर्दी दुरुपयोग गरी चोरीको प्रयास भएको यो घटनाले स्थानीय बासिन्दामा थप असुरक्षा र त्रास सिर्जना गरेको छ।


सम्बन्धित समाचार