Logo

२८ असोज,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेकी छन्।

प्रदेश प्रमुखको कार्यालय, जनकपुरधनुषाबाट आज जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेश गर्न भनिएको छ।

विज्ञप्तिअनुसार दाबी पेश गर्न बुधबार, असोज २९ गते दिउँसो ४ बजेसम्मको समयसीमा तोकिएको छ। विज्ञप्ति निमित्त सचिव शत्रुधन यादवद्वारा जारी गरिएको हो।

मुख्यमन्त्री सतिश कुमार सिंहले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मंगलबार पदबाट राजीनामा दिएका थिए, जुन प्रदेश प्रमुख सुवेदीले आजै स्वीकृत गरेकी हुन्।

मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ गठबन्धन बन्ने सम्भावना बढेको छ।


सम्बन्धित समाचार