Logo

२८ असोज, काठमाडौं । हमास लडाकुहरूद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको पुष्टि भएको छ।

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्ट अनुसार विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भइसकेको पाइएको इजरायलस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ।

“हमासले हस्तान्तरण गरेको शव विपिनकै भएको पुष्टि डीएनए परीक्षणबाट भएको छ। रिपोर्टअनुसार उनको मृत्यु प्राकृतिक नभई हत्या हो भन्ने देखिएको छ,” स्रोतले जनाएको छ।

विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) मार्फत इजरायली सैनिक अस्पतालमा पु-याएर डीएनए परीक्षण गरिएको थियो। यद्यपि, यसबारे नेपाली दूतावासले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि रिपोर्टबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।

स्रोतका अनुसार, प्रधानमन्त्री सुशीला कार्की (जसले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी छिन्) लाई यसबारे औपचारिक जानकारी दिइएपछि मात्रै विपिनको डीएनए रिपोर्ट सार्वजनिक गर्ने तयारी भइरहेको छ।

कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल गएका थिए। गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। सोही हमलाका क्रममा विपिन जोशी बन्धक बनाइएका थिए र त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो।

इजरायल–हमासबीच युद्धविरामपछि मात्रै मंगलबार बिहान हमासले विपिनको शव हस्तान्तरण गरेको हो। त्यसपछि इजरायली सेनाले उनको मृत्यु पुष्टि गरेको थियो।


सम्बन्धित समाचार