Logo

२९ असोज,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज (बुधबार) निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस शिविरमा करिब ४७० जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको विद्यालयका स्रोतले जानकारी दिएको छ। परीक्षणका क्रममा २५ जना विद्यार्थीमा सामान्य दृष्टि त्रुटि (Error) समस्या पहिचान भएको छ।

उक्त शिविर किरण आँखा अस्पतालका सञ्चालक डा. अमर क्यालको समन्वयमा सञ्चालन भएको थियो। स्वास्थ्यकर्मी मुस्कान, रामबाबु, कविता, कुमार, शोभा र रुबीलगायतको टोलीले सक्रिय सहभागिता जनाएर सेवा प्रदान गरेका थिए।

शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूले समेत निःशुल्क रूपमा आँखा परीक्षण गराएर प्रत्यक्ष लाभ लिएका छन्।

शिविरको महत्त्वबारे जानकारी दिँदै डा. अमर क्यालले भने, “निःशुल्क आँखा परीक्षण शिविरले विद्यालय क्षेत्रका विद्यार्थी तथा स्थानीय समुदायमा आँखा स्वास्थ्यप्रतिको सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।” यस्ता शिविरले विद्यार्थीहरूमा हुनसक्ने दृष्टि सम्बन्धी प्रारम्भिक समस्याहरू पहिचान गरी तत्काल उपचारको व्यवस्था गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार