Logo

काठमाडौँ। तिहारको लामो बिदा सुरु भएसँगै यस वर्ष काठमाडौँ उपत्यकाबाट बाहिरिने मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार, यसपटक करिब ६ लाख मानिस उपत्यकाबाट आफ्नो गन्तव्यतर्फ लाग्नेछन् ।

दशैँको सास्ती हटेको दाबी

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यस वर्ष यात्रुहरूले दशैँमा जस्तो सास्ती बेहोर्नु नपर्नेमा जोड दिएका छन् । स्वाँरले यो पटक दशैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नुपरेपनि तिहारको समयमा राजमार्ग सुधार भैसकेको बताएका छन् । अब सास्ती बेहोर्नु नपर्ने स्वारको भनाई छ ।

सडकको अवस्था र तयारी

सडक विभागले पनि देशभरका मुख्य राजमार्गहरू पूर्ण रूपमा सुधार भइसकेको जानकारी दिएको छ। विभागका सूचना अधिकारी शुभाञ्जन दाहाल ले मेची राजमार्गस्थित माईखोला लगायत दशैँमा अवरुद्ध भएका सबै सडक खण्डहरू शनिबारबाटै सञ्चालनमा आइसकेको बताएका छन् ।

दाहालका अनुसार, अहिले कुनै पनि राष्ट्रिय राजमार्गमा समस्या छैन । विभागले सुक्खा पहिरो वा अन्य कुनै कारणले सडक अवरुद्ध भएमा तत्काल सडक सञ्चालन गर्न तयारी अवस्थामा रहेको जनाएको छ।

यस अनुमानित सङ्ख्यालाई ध्यानमा राख्दै, यात्रुहरूलाई सहज यात्रा गराउनका लागि यातायात व्यवसायीहरूले पर्याप्त सवारीसाधनको व्यवस्थापन गरिसकेको महासंघले जनाएको छ।


सम्बन्धित समाचार