Logo

३ कात्तिक,वीरगञ्ज । पर्सा जिल्लामा ५ लाख ४७ हजार ३११ जनालाई हैजाविरुद्धको खोप खुवाइएको छ। विश्व स्वास्थ्य संगठन (WHO) को सहकार्यमा स्वास्थ्य कार्यालय पर्साले असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन गरेको खोप अभियान अन्तर्गत जिल्लाका १४ वटै पालिकामा खोप लगाइएको हो।

वीरगन्ज महानगरसहित पर्साका केही पालिकामा करिब दुई महिनाअघि हैजाको महामारी फैलिएको थियो। हाल पनि वीरगन्जका अस्पतालहरूमा हैजाका शंकास्पद बिरामी फाट्टफुट्ट उपचारका लागि आइरहेका छन्।

महामारी रोकथाम र नियन्त्रणका लागि सुरु गरिएको ७ दिने अभियानमा जिल्लाको कुल जनसंख्याको ८४ प्रतिशतलाई हैजाविरुद्धको खोप खुवाइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार, पर्सामा कुल ६ लाख ५२ हजार १२९ जनालाई खोप खुवाउने लक्ष्य रहेकोमा ५ लाख ४७ हजार ३११ जनाले खोप लगाएका हुन्।

सबैभन्दा बढी खोप वीरगन्ज महानगरपालिकामा लगाइएको छ। यहाँ कूल जनसंख्या २ लाख ७५ हजार ६७३ मध्ये २ लाख २६ हजार १६६ जनाले खोप लगाएका छन्। यस्तै, पर्सागढी नगरपालिकामा ३४ हजार ८६१ जना, बहुदरमाई नगरपालिकामा ३४ हजार ८३३ जना, पोखरिया नगरपालिकामा ३१ हजार ४८१ जना, सखुवाप्रसौनी गाउँपालिकामा ३१ हजार ३८० जना र जगर्नाथपुर गाउँपालिकामा ३० हजार २३२ जनाले खोप लगाएका छन्।

त्यसैगरी, छिपहरमाई गाउँपालिकामा २६ हजार ९०४, बिन्दवासिनीमा २२ हजार ४३३, पटेर्वा सुगौलीमा २१ हजार ४५५, धोबिनीमा १९ हजार ५५, कालिकामाईमा १९ हजार ३०, पकहा मैनपुरमा १७ हजार ९०२, जिराभवानीमा १७ हजार २९६ र ठोरी गाउँपालिकामा १४ हजार ३५० जनाले खोप लगाएका छन्।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार बाँकी १६ प्रतिशत जनतालाई पनि छठ पर्व लगत्तै अर्को चरणको खोप अभियान सञ्चालन गरेर समेटिनेछ। उनले भने, “यो अभियानमा खोप केन्द्र स्थापना मात्र होइन, घरदैलो कार्यक्रममार्फत पनि खोप लगाइयो। तर अझै १६ प्रतिशत छुटेका छन्, जसका लागि अर्को चरण सुरु गर्ने तयारी भइरहेको छ।”

पर्सामा गत भदौ ६ गते पहिलोपटक वीरगन्जमा ३ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो। त्यसयता २ सय ४५ जनामा हैजा पुष्टि भइसकेको छ।

संक्रमण दोहोरिन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा खोप अभियान सञ्चालन गरेको हो। स्वास्थ्यकर्मीहरूले समयमै खोप लगाएर संक्रमण फैलिन नदिन जनतालाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।


सम्बन्धित समाचार