४ कार्तिक, वीरगञ्ज । बारा र पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत लक्षित जनसङ्ख्याको ८५ प्रतिशतले खोप लगाइसकेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, पर्सामा ८४ प्रतिशत (५ लाख ४७ हजार जना) र बारामा ८७ प्रतिशत (३ लाख १७ हजार जना) नागरिकले हैजाविरुद्धको खोप प्राप्त गरेका छन्। यो अभियान देशभरका स्वास्थ्य पूर्वाधारका हिसाबले सफलतम मानिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
हैजा संक्रमण फैलिएको जनस्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न सरकारले पर्साका सबै स्थानीय तहहरूमा असोज २६ गतेदेखि र पर्सासँग सीमा जोडिएका बाराका ६ वटा पालिकामा असोज २७ गतेदेखि खोप अभियान सुरु गरेको थियो ।
अभियानको पहिलो चरणमा घरदैलो कार्यक्रममार्फत स्वास्थ्यकर्मीहरूले समुदायमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको थियो। विद्यालय, सामुदायिक भवन र अस्थायी खोप केन्द्रमार्फत पनि खोप वितरण गरिएको थियो ।
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालका अनुसार, “पर्सा र बारामा हैजा नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। स्थानीय सरकार, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको समन्वयले यो सफलता सम्भव भएको हो।”
उनले थपे, “खोप लगाएकामध्ये कुनै पनि व्यक्तिमा गम्भीर साइड इफेक्ट देखिएको छैन, जसले यो अभियान सुरक्षित र प्रभावकारी भएको पुष्टि गर्छ।”
खोप अभियानसँगै हैजाबारे जनचेतना फैलाउन स्थानीय तह र स्वास्थ्य संस्थाहरूले स्वच्छ खानेपानी, सरसफाइ र व्यक्तिगत स्वच्छता सम्बन्धी जनजागरण कार्यक्रम पनि सञ्चालन गरेका थिए। विद्यालयहरूमा विद्यार्थीलाई हैजाको कारण, लक्षण र रोकथामका उपायबारे जानकारी दिने गतिविधि सञ्चालन गरिएको थियो।
स्वास्थ्य मन्त्रालयले हैजाविरुद्धको खोप अभियानलाई दीर्घकालीन रोग नियन्त्रण रणनीतिसँग जोडेर लैजाने तयारी गरेको छ। मन्त्रालयका एक अधिकारीका अनुसार, “खोपले तत्काल जोखिम घटाए पनि खानेपानी र सरसफाइ सुधारबिना दीर्घकालीन नियन्त्रण सम्भव हुँदैन।”
यो पनि :
पर्सामा ५ लाख ४७ हजार बढीलाई हैजाविरुद्ध खोप
पर्सा र बारामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले हैजाविरुद्धको खोप लिए
पर्साका १४ पालिकामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरु हुँदै

















