Logo

४ कार्तिक, काठमाडौँ ।  हिन्दी सिनेमाका प्रख्यात हास्य अभिनेता गोवर्धन असरानी (असरानी) को ८४ वर्षको उमेरमा निधन भएको छ। उनी पछिल्ला केही दिनदेखि बिरामी थिए र मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा उपचाररत थिए। सोमबार दिउँसो करिब ३ देखि ३ः३० बजेको बीचमा उनले अन्तिम सास लिएका हुन्।

उनका निजी सचिव बाबुभाइका अनुसार, असरानीको स्वास्थ्य अवस्था चार दिनयता गम्भीर थियो। उनको अन्तिम संस्कार मुम्बईको सान्ताक्रुजस्थित शास्त्री नगरको श्मशान घाटमा गोप्य रूपमा सम्पन्न गरिएको थियो। यस अन्त्येष्टिमा उनकी पत्नी मञ्जु, बहिनी, भतिजाहरू र नजिकका केही मात्र व्यक्तिहरू उपस्थित थिए।

असरानीका सचिवका अनुसार, उनले जीवनकालमै मञ्जुलाई ‘मृत्युबारे धेरै होहल्ला नगर्न’ भनेका थिए। यही कारण, उनको निधनको खबर पनि अन्तिम संस्कार सम्पन्न भएपछि मात्र सार्वजनिक गरिएको हो।

सन् १९४१ मा जयपुरमा जन्मिएका असरानीको वास्तविक नाम गोवर्धन असरानी थियो। उनका बुवा कार्पेट कम्पनीका प्रबन्धक थिए। प्रारम्भिक शिक्षा जयपुरमै पाएपछि, उनले पुणे फिल्म इन्स्टिच्युटमा अभिनय अध्ययन गरेका थिए, जहाँ उनले प्रसिद्ध अभिनय शिक्षक रोशन तनेजाबाट प्रशिक्षण पाए।

असरानीले अभिनयलाई ‘विज्ञानजस्तै प्रयोगशाला’ मा अभ्यास गर्नुपर्ने कला मानेका थिए। अभिनयमा मात्र होइन, उनले आकाशवाणी जयपुरमा पनि केही समय काम गरेका थिए।

पुणे फिल्म इन्स्टिच्युटमै अध्ययनका क्रममा, उनले पहिलोपटक ऋषिकेश मुखर्जीको फिल्म ‘गुड्डी’ मा सानो भूमिका पाए। लेखक गुलजारसँगको संवादपछि उनलाई त्यो अवसर मिलेको थियो। फिल्म हिट भयो र त्यसपछि मनोज कुमार लगायतका ठूला निर्देशकहरूको नजरमा परेपछि उनको करियर अघि बढ्यो।

‘शोले’ को जेलर — अभिनयको अद्वितीय नमुना

असरानीको सबैभन्दा चिनिने भूमिका १९७५ को ब्लकबस्टर ‘शोले’ मा देखिएको थियो। उनले ‘अंग्रेजों के जÞमाने का जेलर’ को पात्र निभाएका थिए, जुन हास्य र व्यङ्ग्यको उत्कृष्ट उदाहरण मानिन्छ। यस भूमिकाको तयारीका क्रममा, उनलाई हिटलरको भाषण शैली र मुद्राहरू को अध्ययन गर्न सुझाव दिइएको थियो। असरानीले त्यो शैलीलाई जेलरको संवादमा परिवर्तित रूपमा प्रस्तुत गरे।

हालै, असरानीले बीबीसी हिन्दीको ‘कहानी जिन्दगी की’ शृङ्खलामा आफ्नो जीवन र करियरबारे खुलेर कुरा गरेका थिए। उनले अभिनय क्षेत्रमा आउने यात्रा, संघर्ष, सिकाइका पलहरू, र सफलताहरूका किस्साहरू बाँडेका थिए।

करिब ३५० भन्दा बढी फिल्महरूमा अभिनय गरेका असरानीलाई हिन्दी सिनेमामा हास्य अभिनेताको रूपमा एक विशेष स्थान प्राप्त थियो। उनले ‘गोलमाल’, ‘चुपके चुपके’, ‘छुपा रुस्तम’, ‘आ अब लौट चलें’, ‘कोशिश’, ‘बावर्ची’ लगायत थुप्रै चर्चित फिल्महरूमा अविस्मरणीय भूमिका निर्वाह गरेका थिए।


सम्बन्धित समाचार