Logo

५ कात्तिक,काठमाडौं । पेरुको राजधानी लिमा दिनानुदिन बढिरहेको हिंसा, हत्या र आपराधिक गतिविधिलाई रोक्न राष्ट्रपति जोस जेरीले मंगलबारदेखि ३० दिनको आपतकालीन अवस्था लागू गर्ने घोषणा गरेका छन्। अपराध नियन्त्रणका लागि चालिएको यो पछिल्लो कदमले राजनीतिक अस्थिरता र जनआक्रोश अझ चुलिन सक्ने संकेत देखिएको छ।

राष्ट्रपति जेरीले टेलिभिजनमार्फत सम्बोधन गर्दै राजधानी लिमामा आपतकाल लागू गर्ने औपचारिक जानकारी दिएका हुन्। उनले सुरक्षा बललाई थप सशक्त बनाउने, सैनिक परिचालन गर्ने तथा भेला र आवागमनमा अस्थायी प्रतिबन्ध लगाउने तयारी भइरहेको स्पष्ट पारे।

“युद्ध शब्दले होइन, कार्यले जितिन्छ,” भन्दै राष्ट्रपति जेरीले अपराधविरुद्धको अभियानलाई ‘रक्षाबाट आक्रमणतर्फको रूपान्तरण’ को रूपमा परिभाषित गरे।

सरकारी तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्म पेरुमा १,६९० हत्या घटनाहरू रिपोर्ट भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो। देशमा अपहरण, हिंसात्मक फिरौती, र सार्वजनिक स्थलमा आक्रमणजस्ता गम्भीर अपराधहरू तीव्र रुपमा बढेका छन्।

यही अस्थिरता र अपराध नियन्त्रणमा असफलता नै राष्ट्रपति जेरीका पूर्ववर्ती दिना बोलुआर्तेको पतनको प्रमुख कारण बनेको थियो। उनलाई गत अक्टोबर १० मा संसद्ले महाभियोगमार्फत पदच्युत गरेको थियो। त्यसपछि तत्कालीन संसद्का सभामुख जोस जेरी राष्ट्रपतिको भूमिकामा आएका थिए।

यता राजधानी लिमा लगायतका शहरहरूमा जेन जेड कार्यकर्ताहरूको नेतृत्वमा भ्रष्टाचार, दण्डहीनता र हिंसाको विरोधमा व्यापक प्रदर्शन भइरहेका छन्। गत बिहीबार मात्रै हजारौँ प्रदर्शनकारीले लिमामा विशाल र्‍याली निकालेका थिए, जसमा एक सर्वसाधारणको मृत्यु भएको र करिब सयजना घाइते भएका थिए।

राष्ट्रपति जेरीले आफूले राजीनामा नदिने स्पष्ट संकेत दिँदै अपराध नियन्त्रणका लागि सशक्त कार्यनीति अवलम्बन गरिने बताएका छन्।

यसअघि पूर्वराष्ट्रपति बोलुआर्तेले पनि गत मार्चमा ३० दिनको आपतकालीन अवस्था लागू गरेकी थिइन्, तर त्यो कदमले अपेक्षित नतिजा दिन सकेको थिएन।


सम्बन्धित समाचार