Logo

५  कात्र्तिक, काठमाडौं । आन्दोलनको राप सेलाउन नपाउँदै नेकपा माओवादी केन्द्रले बुधबार मधेसमा शक्ति प्रदर्शन गर्दै आसन्न चुनावी तयारीको औपचारिक सुरुवात गरेको छ।

महोत्तरीको रामगोपालपुरमा शुभकामना आदान-प्रदान र पार्टी प्रवेश कार्यक्रम आयोजना गरी माओवादीले आफू निर्वाचनमा होमिन तयार रहेको स्पष्ट सन्देश दिएको छ । पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै विशेषगरी जेनजी युवा लाई चुनावको प्रक्रियामा सहभागी भई माओवादीसँग सहकार्य गर्न सार्वजनिक रूपमा आह्वान गरेका छन् । माओवादीको यो कदमलाई आन्दोलनपछि शिथिल बनेका राजनीतिक गतिविधिबीच जनतामा नयाँ ऊर्जा प्रवाह गर्ने प्रयासका रूपमा हेरिएको छ ।

चुनावी तालमेल र महाधिवेशन एकसाथ

माओवादी केन्द्रले चाँडै नै पार्टी महाधिवेशनको तयारी र चुनावी अभियानलाई एकसाथ अगाडि बढाउने निर्णय गरिसकेको छ। चाडपर्व सकिएलगत्तै देशव्यापी रूपमा जनतामाझ पुग्ने बृहत् अभियान सञ्चालन गर्ने तयारीमा पार्टी जुटेको छ । महोत्तरी जिल्ला इन्चार्ज प्रकाश पोखरेलका अनुसार जेनजी आन्दोलनका कारण ठूला दलहरू सभा-सम्मेलन गर्न हिचकिचाइरहेका बेला माओवादीले मधेसमा ठूलो उपस्थिति जनाएर जनतालाई सन्देश दिन सफल भएको छ ।

चुनाव अलमलबीच माओवादी अग्रसर

अन्य प्रमुख राजनीतिक दलहरू चुनावी प्रक्रियामा होमिने वा संसद पुनर्स्थापनाको पक्षमा जाने भन्ने विषयमा अनिर्णयको बन्धनमा छन् । नेपाली कांग्रेसले औपचारिक रूपमा चुनावको पक्षमा उभिने वा प्रतिनिधि सभा पुनर्स्थापनाको बाटो रोज्ने भन्ने निर्णय गरिसकेको छैन भने नेकपा एमाले फागुन २१ मा तय भएको निर्वाचन नहुने निष्कर्ष निकाल्दै संसद पुनर्स्थापनामा जोड दिइरहेको छ ।

यस्तो अवस्थामा माओवादी केन्द्रले रामगोपालपुरको सभाबाट निर्वाचनमा जाने आफ्नो अडानलाई पुनः बलियो गरी प्रस्तुत गरेको छ । पार्टीका वरिष्ठ नेता मातृका यादवको समेत उपस्थिति रहेको उक्त कार्यक्रमलाई माओवादीले मधेस प्रदेशमा चुनावी तयारीको बिगुल फुकेको अर्थमा लिइएको छ ।


सम्बन्धित समाचार