Logo

५ कात्र्तिक, काठमाडौँ । तिहारको पावन अवसरमा दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीहरूका लागि काठमाडौंको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज खुल्ला गरियो ।

वर्षमा एक दिन, भाइटीकाको शुभ अवसरमा मात्र खुल्ने यस मन्दिरमा दाजुभाइ(दिदीबहिनी नहुनेहरूले सामूहिक टीका लगाउँदै आपसी प्रेम, स्नेह र अटुट आस्थाको पर्व मनाएका छन् ।

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा भए पनि मन्दिर बिहानैदेखि खुल्ला गरिएको थियो । बालगोपालेश्वरको दर्शन र टीका लगाउने परम्परा पूरा गर्न बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो। मन्दिरका पुजारी भेमब कोइरालाका अनुसार, दिउँसोसम्म करिब १५ सय जनाले मन्दिरमा टीका लगाइसकेका थिए ।

भाइटीकाको अनुपम परम्परा

जसका नजिकका दिदीबहिनी वा दाजुभाइ हुँदैनन्, उनीहरूले यस मन्दिरमा गई बालगोपालेश्वरको दर्शन गरेर टीका लगाउने चलन छ। यो परम्पराले तिहारको मुख्य पर्व भाइटीकाको मर्म र भावनात्मक अनुभवबाट कोही पनि वञ्चित नहोस् भन्ने मान्यतालाई मूर्तरूप दिएको छ।

श्रद्धालु भक्तजनहरूले मन्दिरमा फूल, माला, अक्षता, रङ्ग र मिठाई चढाएर बालगोपालेश्वरको आराधना गरे । परम्परागत विधिअनुसार पञ्चरङ्गी र सप्तरङ्गी टीका लगाएर एकअर्कालाई दीर्घायु, आरोग्य र समृद्धिको कामना साटासाट गरिएको थियो। यस मन्दिरको दर्शन गरी टीका लगाउँदा भाइटीकाको पूर्ण फल प्राप्त हुने धार्मिक विश्वास गरिन्छ।

रानीपोखरीमा आज देखिएको यो विशेष चहलपहलले दिदीबहिनी वा दाजुभाइ नहुनेहरूलाई समेत पर्वको पूर्ण आनन्द र भावनात्मक बन्धनको महसुस गराएको छ।


सम्बन्धित समाचार