Logo

७ कात्र्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका सामान आयात भएका छन् ।

गत आव २०८१/०८२ को सोही अवधिको तुलनामा एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिएका छन्  ।  उनका अनुसार गत आवको पहिलो त्रैमासिकमा १० अर्ब ८४ करोड तीन लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो  ।

चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ । यो अवधिमा चार अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ६ अर्ब आठ करोड ६९ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात २१ दशमलव ०८ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईँले बताएका छन्  ।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, फलामे पाता, चिया, प्लाइ उड, छुर्पी, अम्रिसो, भेनिउर सिट, लगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८२/८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट चार अर्ब १५ करोड २० लाख आठ हजार राजस्व संकलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १५.६९ प्रतिशत अर्थात् ५६ करोड २९ लाख ९७ हजारले रुपैयाँ बढी हो ।


सम्बन्धित समाचार