७ कात्र्तिक, काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताको चाप बढेको छ ।
जेनजी आन्दोलनपछि विशेषगरी युवा पुस्ताको सहभागितामा दल दर्ताका लागि निवेदन दिने क्रम बढेको आयोगले जनाएको छ। आयोगका अनुसार, प्रतिनिधिसभा निर्वाचन घोषणाअघि १० र घोषणापछि पाँच गरी कुल १५ नयाँ राजनीतिक दल दर्ताका लागि विचाराधीन अवस्थामा छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, प्रक्रिया पुगेका दलहरूको निवेदन स्वीकृत गरिनेछ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ नेतृत्वको संस्कृति पार्टी नामक दलले असोज ७ गते दर्ताका लागि निवेदन दिएको थियो।
गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टी नमक दलले सिक्का चुनाव चिन्ह माग गर्दै कात्तिक २ गते निवेदन दिएको छ । यस्तै, हिराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेनजी पार्टी नेपालले क्रस खुकुरी निर्वाचन चिन्ह माग गर्दै कात्तिक २ गते निवेदन दिएको छ। अन्य पनि धेरै राजनीतिक दल दर्ताको लागि निवेदन परेको आयोगले जनाएको छ ।
आयोगले हाल विचाराधीन अवस्थामा रहेका यी दलहरूले दर्ता प्रमाणपत्र लिइसकेपछि पनि निर्वाचनमा भाग लिनका लागि पुनः निवेदन दिनुपर्नेछ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना कात्तिक २८ गते प्रकाशन हुनेछ । आयोगले मङ्सिर १ देखि १० गतेसम्म १० दिनको समय दिनेछ।
यो अवधिमा दर्ता गर्ने दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन पाउनेछन् । यसअघि १२२ दल दर्ता भएकामा अहिले १२४ दल कायम छन् । निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दलहरूबीच संवाद र छलफल पनि जारी रहेको आयोगले जनाएको छ ।

















