७ कात्तिक,काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित कुर्नुल जिल्लामा बिहान एक यात्रुवाहक बसमा आगो लागेको छ। दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने थुप्रै यात्रु घाइते भएका छन्। बसको पछाडि मोटरसाइकल ठोक्किँदा आगो लागेको हो। मोटरसाइकल चालक पनि जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
४४ जना यात्रु बोकेको बस तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु तर्फ जाँदै थियो। आगो केही मिनेटभित्रै फैलिँदा केही यात्रु झ्याल फुटाएर बाहिर निस्कन सफल भए, तर धेरैको मद्दत पुग्नु अघि नै जलेर मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारी विक्रान्त पाटिलले बताए।
पाटिलका अनुसार मोटरसाइकलको ठक्करले बसको इन्धन ट्याङ्कीमा स्पार्क पुगेको थियो। बस चालकले आगो निभाउने प्रयास गरे पनि नियन्त्रण गर्न सकेनन्। दुर्घटनाको समयमा धेरैजसो यात्रु सुतिरहेका थिए। फरेन्सिक टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
यो भारतमा दुई हप्ताभन्दा कम समयमा भएको दोस्रो घातक बस आगलागी हो। यसै महिनाको सुरुमै राजस्थानमा पनि यात्रु बसमा सर्ट सर्किटबाट आगो लागेको घटनामा कम्तीमा २० जनाको मृत्यु भएको थियो।
















