७ कात्तिक,काठमाडौं । डिप्रेसन (अवसाद) विरुद्ध प्रयोग हुने औषधिहरूले शरीरमा पार्ने नकारात्मक प्रभावहरूको पहिलोपटक वर्गीकरण गरिएको छ। अनुसन्धानकर्ताहरूले बिरामीहरूमा उपचारको पहिलो आठ हप्तामा देखिएका असरहरूको अध्ययन गरेका हुन्।
बीबीसीका अनुसार, अध्ययनमा डिप्रेसनका केही औषधिहरूले बिरामीहरूको तौल दुई किलोसम्म बढाउने र मुटुको धड्कनमा प्रतिमिनेट २१ धड्कनसम्मको भिन्नता ल्याउने पत्ता लागेको छ।
अनुसन्धान टोलीले डिप्रेसनका लागि सामान्यतया प्रयोग हुने ३० औषधिहरूको १५१ अध्ययनको विश्लेषण गरेको हो, जसमा ५८ हजार ५०० भन्दा बढी बिरामीहरू सहभागी थिए। अध्ययनको नतिजा ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित गरिएको छ।
रिपोर्टअनुसार, एगोमेलाटिन सेवन गर्ने बिरामीहरूको औसत तौल २.४ किलो घटेको पाइयो भने म्याप्रोटिलिन सेवन गर्नेहरूको तौल झन्डै दुई किलो बढेको देखियो।
त्यस्तै, फ्लुभोक्सामाइनले मुटुको धड्कन सुस्त (२१ पटकले कम) बनाएको पाइयो भने नोट्रिप्टाइलीनले धड्कन बढाएको पत्ता लागेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार, एउटै मानसिक स्वास्थ्य अवस्थाका बिरामीहरूमा पनि औषधिको प्रभाव फरक हुन सक्छ। त्यसैले, डिप्रेसनका औषधिहरू रोक्ने होइन, बिरामीको स्वास्थ्य अवस्था, प्राथमिकता र आवश्यकता अनुसार औषधि छनोट गर्नुपर्ने अध्ययनमा उल्लेख गरिएको छ।
विशेषज्ञहरूले यसलाई डिप्रेसन उपचारमा ‘व्यक्तिगत औषधि छनोट’ (Personalized Medicine) तर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
















