Logo

५ चैत,चितवन । चितवनको उदयपुर सामुदायिक वनमा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ।

कालिका नगरपालिका नगरपालिका वडा नम्बर ७ स्थित सामुदायिक वनको क्षेत्रभित्र रहेको संरक्षित वन खण्डको केउरेनी घोल नजिकै शनिबार दिउँसो बाघ मृत भेटिएको हो। बाघ अन्दाजी ६ वर्षको रहेको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताउनु भयो । बाघको आहारमा विष परेको हुनसक्ने आशंका गरिएको छ ।

‘करिब १२ घण्टा अघि मरेको अनुमान डाक्टरहरूले गर्नुभयो। बाघको पेटभित्र बाख्राको अङ्ग भेटिएको थियो। बाघको मुख र मलद्वारबाट सेतो फिँज निस्किएको थियो। त्यसैले उसको आहारमा विष परेको हुनसक्ने प्रारम्भिक अनुमान छ,’ खनालले भन्नुभयो , ‘नमूना परीक्षणका लागि प्रयोगशालामा पठाएका छौँ। दुई दिनमा रिपोर्ट आउँछ।’

नमुनालाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि पठाउन लागेको उहाँले बताउनु भयो । शनिबार राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका चिकित्सकसहितको टोलीले बाघको शनिबार पोस्टमार्टम गरेको थियो। नमूना परीक्षण चितवनमै पनि हुने बताइएको छ ।

खनालका अनुसार पूर्व(पश्चिम राजमार्गदेखि उत्तरतर्फको जङ्गलमा १० वटा जति पाटे बाघ छन्। शनिबार मृत भेटिएको बाघ करिब २ महिना अघिदेखि उदयपुर सामुदायिक वनभित्र देखिएको उहाँले बताउनु भयो ।


सम्बन्धित समाचार