१० कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । सोमबारका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, तिहारको पर्व सकिएपछि सुनको भाउमा लगातार ओरालो लागेको छ । तिहारपछि मात्रै सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँले सस्तिएको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
किन घट्यो सुनको भाउ
नेपाली बजारमा सुनको मूल्य घट्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा आएको गिरावट हो । अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति जुटेको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा दबाब परेको महासंघले जनाएको छ । सोही अन्तर्राष्ट्रिय प्रभावका कारण नेपाली बजारमा पनि सुनको भाउमा ठूलो गिरावट देखिएको छ ।

















