Logo

१० कात्र्तिक, काठमाडौँ । अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरिएको २१ दिनको अवधिमा जम्मा दुई वटा राजनीतिक दल मात्र अद्यावधिक भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार, असोज २४ गते राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष केशवबहादुर थापा र असोज २८ गते जनस्वराज पार्टी अध्यक्ष दीपक कुमार साहले मात्र दल दर्ताको अध्यावधिक गरेका छन् ।

६ नयाँ दल दर्ता प्रक्रियामा

यसैबीच, निर्वाचनको घोषणा भएपछि आयोगमा ६ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निवेदन दिने दलहरूमा श्रम संस्कृति पार्टी (हर्क साम्पाङ राई नेतृत्वको), नेपाल नागरिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी र राष्ट्रिय जेनजी पार्टी रहेका छन् ।

प्रवक्ता भट्टराईका अनुसार, निवेदन दिएकामध्ये श्रम संस्कृति, नेपाल नागरिक, गतिशील लोकतान्त्रिक र राष्ट्रिय परिवर्तन पार्टी दर्ता प्रक्रियामा छन् । यस्तै, नेपाल लिभरल पार्टीले आवश्यक विवरण (अनुसूची–३ लगायत) पेस गरेको छैन भने राष्ट्रिय जेनजी पार्टीको निवेदन फाइलमा टिपोट भएको अवस्थामा छ ।

मंसिर १ देखि दल दर्ताको समय

आयोगले निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय दिएको छ। तर, निर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेको दलले मात्र पाउने कानुनी व्यवस्था भएकाले इच्छुक दलहरूले कात्तिक ३० गतेभित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ ।

हालसम्म आयोगमा कुल १२४ दल दर्ता अद्यावधिक भएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २७ गते जननिर्वाचित संसद् विघटन गरी निर्वाचनको घोषणा गरेको थियो ।


सम्बन्धित समाचार