Logo

१० कात्तिक, काठमाडौं । बंगालको खाडी र अरब सागरमा एकैसाथ विकसित भएका दुईवटा न्यूनचापीय प्रणालीको संयुक्त प्रभावले नेपालमा यो साता मौसम प्रतिकूल हुने देखिएको छ ।

मौसमविद्हरूका अनुसार मंगलबारदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ । यो मौसमी प्रणालीले गत असोजमा पहिरोले ठूलो क्षति व्यहोरेको कोशी प्रदेशका इलाम लगायतका जिल्लाहरूमा थप जोखिम बढाउन सक्ने र भित्र्याउन लागिएको धान बालीमा समेत क्षति पुर्‍याउन सक्ने आँकलन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार दुई फरक मौसमी प्रणालीले यो हप्ता नेपालको मौसमलाई ‘अनस्टेबल’ बनाउनेछ । “एउटा बंगालको खाडीमा विकसित ‘मोन्था साइक्लोन’ हो, जुन भारतको ओडिसा–विशाखापट्नम तट नजिक आउँदैछ,” सिग्देलले भने, “अर्को प्रणाली अरब सागरमा विकसित भएर भारतको गुजराततिर प्रवेश गर्दैछ ।”

कहिले र कहाँ पर्छ असर ?

मौसमविद् सिग्देलका अनुसार अरब सागरबाट आउने प्रणालीको प्रभाव मंगलबार र बुधबार नेपालको पश्चिमी भूभागमा देखिनेछ । यसले विशेषगरी सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भागमा वर्षा गराउने छ ।

त्यसलगत्तै, बिहीबार बेलुकाबाट बंगालको खाडीको प्रणाली सक्रिय हुनेछ । यो प्रणालीले शनिबारसम्म नेपालको मध्य र पूर्वी भागलाई बढी प्रभावित पार्नेछ । “यसको मुख्य फोकस मधेश प्रदेश र कोशी प्रदेशमा हुनेछ, जहाँ सक्रिय रूपमा वर्षा गराउने देखिन्छ,” सिग्देलले भने । यसको केही असर बागमती प्रदेश र काठमाडौं उपत्यकामा पनि पर्नसक्ने आँकलन छ ।

पूर्वी नेपालमा पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

यी प्रणालीहरू भारतको तटीय क्षेत्रमा भर्खरै प्रवेश गर्न लागेकाले नेपालमा यसको शक्तिबारे थप अनुगमन आवश्यक भए पनि प्रारम्भिक आँकलनअनुसार मध्यमदेखि भारी वर्षासम्म हुनसक्ने देखिएको छ ।

विशेषगरी पूर्वी नेपालमा वर्षाको तीव्रता बढी हुने सम्भावना छ । “विगतमा पहिरोले जमिन कमजोर भइसकेको हुनाले (इलाम लगायतका क्षेत्रमा) मध्यम वर्षाले पनि पहिरो ल्याउन सक्ने सम्भावना रहन्छ,” सहप्राध्यापक सिग्देलले भने, “त्यसैले अलि बढी चनाखो हुनुपर्ने छ ।”

उनले पहिरोको जोखिम भएका पहिचान भइसकेका क्षेत्रहरूमा जिल्ला विपद् संयन्त्रहरू चनाखो हुनुपर्ने र विशेषगरी रातिको समयमा मानिसहरूलाई सुरक्षित स्थानमा जान सचेत गराउनुपर्नेमा जोड दिए ।

जोखिम मात्रै होइन, फाइदा पनि

यद्यपि, यी मौसमी प्रणालीका केही सकारात्मक पक्षहरू पनि रहेको मौसमविद्हरू बताउँछन् । यस प्रणालीले उत्तरी हिमाली क्षेत्रमा राम्रो हिमपात गराउने अपेक्षा छ । “यसले आगामी दिनहरूमा हिमाली भेगमा हिमपात हुनेछ र पोहोरजस्तो काला हिमाल देख्नुपर्ने छैन,” सिग्देलले भने ।

हिमाल सेताम्य हुँदा पर्यटन क्षेत्र लाभान्वित हुने, हिमाली र पहाडी जलस्रोतलाई मद्दत पुग्ने, जमिनमा आद्रता कायम भई कृषि बालीलाई फाइदा पुग्ने र केही हदसम्म प्रदूषण पनि घटाउने उनले बताए ।

मौसमविद्हरूका अनुसार मनसुन सकिएपछि अक्टोबर महिनामा समुद्री तापक्रमको प्रभावले चक्रवातहरू आउनुलाई सामान्य मौसमी प्रक्रिया नै मानिन्छ ।


सम्बन्धित समाचार