Logo

१० कात्र्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले मुलुकको वर्तमान परिस्थितिबाट सही निकास पाउन फागुन २१ गतेका लागि घोषित निर्वाचन सम्पन्न गराउनुको विकल्प नभएको बताएका छन् ।

सोमबार भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले रास्वपा पूर्ण रूपमा चुनावी तयारीमा केन्द्रित भइसकेको जानकारी दिएका छन् ।

उनले भने, “रास्वपा चुनावमा केन्द्रित भइसक्यो। पार्टी उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा बाचापत्र तयारीको काम भइरहेको छ। कात्तिक १५ गते निर्वाचन केन्द्रित कार्यक्रम घोषणा गर्दैछौँ। अरू दलले पनि चुनाव सम्पन्न गर्न सहयोग गर्नुपर्छ।”

अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य कार्यभार नै निर्वाचन गराउनु रहेकोमा जोड दिँदै यदि अहिलेको सरकारले चुनाव गराउन नसकेमा मुलुक थप अप्ठ्यारोमा पर्न सक्ने चेतावनी दिए ।

जेनजी अगुवा र बालेनसँग सकारात्मक संवाद

पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै कार्यवाहक सभापति अर्यालले जेनजी अगुवा, ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौँका मेयर बालेन्द्र शाहलगायतका शक्तिहरूसँग रास्वपाले निरन्तर संवाद गरिरहेको पुष्टि गरे ।

उनले सबै शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको र छलफलहरू सकारात्मक ढंगले अगाडि बढेको समेत स्पष्ट पारे ।


सम्बन्धित समाचार