Logo

१० कात्र्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि बन्द हुन पुगेको सर्वोच्च अदालतको वेबसाइट सोमबारबाट पुनः सञ्चालनमा आएको छ।

करिब डेढ महिनादेखि अवरुद्ध रहेको वेबसाइटलाई सर्वोच्च अदालतको सूचना–प्रविधि महाशाखाले पूर्ववत् रूपमा सञ्चालनमा ल्याएको हो । वेबसाइट बन्द हुँदा कागजी रूपमा मात्रै सञ्चालनमा सीमित भएको अदालतको काम अब सोमबारबाट डिजिटल रूपमा समेत सञ्चालित हुने भएको छ ।

सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारबाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली (केस म्यानेजमेन्ट सिस्टम–सीएमएस) सञ्चालन गर्ने गर्छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार, अब सर्वोच्चको वेबसाइटमा आबद्ध विशेष, उच्च र जिल्ला अदालतका वेबसाइट तथा सूचना प्रणालीहरू पनि सञ्चालन गर्ने तयारी भइरहेको छ ।

सर्वोच्चको वेबसाइटमा मुद्दाको तारिख, पेशी, अन्य सबै विवरण र फैसला समेत उपलब्ध हुने भएकाले वेबसाइट बन्द हुँदा मुद्दाका सरोकारवालाहरू प्रत्यक्ष प्रभावित भएका थिए । वेबसाइट पुनः सञ्चालनमा आउँदा न्यायिक प्रक्रियामा थप सहजता आउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार