१५ कात्तिक,काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान गरे। यस्तै करन केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३ र कप्तान रोहितकुमार पौडेलले ३६ रन बनाए। अमेरिकाका हरमित सिंहले तीन विकेट लिए भने नोस्टुस केन्जिगे र सौरभ नेत्रवलकरले समान दुई–दुई विकेट लिए। जसदीप सिंह र शुभम रञ्जनेले समान एक–एक विकेट लिए।
यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०८ रनले पराजित भएको थियो भने बिहीवार यूएईसँगको खेलमा पनि नेपाल पाँच विकेटले हार व्यहोरेको थियो।
त्रिदेशीय श्रृंखलाको अन्तिम खेल नेपालले आउँदो बुधवार यूएईसँग खेल्नेछ। लिग–२ मा नेपालले १८ खेलबाट १२ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अमेरिकाले २२ खेलमा ३२ अङ्क हासिल गरेको छ भने यूएई १८ खेलमा आठ अङ्कसहित पुछारमा छ।

















