Logo

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेले देशव्यापी रूपमा युवाहरूलाई परिचालन गर्ने उद्देश्यसहित ‘युथ भोलेन्टियर फोर्स’ को औपचारिक घोषणा गरेको छ ।

आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाबाट यो फोर्सको घोषणा गरिएको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्य को उपस्थिति थियो ।

पहिलो घोषणा भक्तपुरमा

एमालेका पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेत ले युथ भोलेन्टियर फोर्सको आचारसंहिता समेत तयार पारिएको जानकारी दिए । उनले भने, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौं । भक्तपुरपछि यो फोर्सलाई ललितपुर, काठमाडौं, काभ्रे, रामेछाप लगायतका जिल्लामा पनि घोषणा गर्नेछौं ।’ नेता बस्नेतले यो युथ फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमाल का संगठनका साथीहरूले साथ दिएको बताए ।

सुरक्षा र समन्वयमा युवा

केपी ओली गुण्डुमा बस्न थालेपछि विगत दुई महिनादेखि युवाहरू त्यस क्षेत्रमा खटिएको नेता बस्नेतले जानकारी दिए । उनले भने, ‘२ महिनामा २ हजार युवा खटे । गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन ।’ युवा संघ, भूपू सैनिक संगठन, एमाले भक्तपुर लगायतका संगठनले नेताहरूको सुरक्षामा काम गरिरहेको उनले बताए ।

विगतमा युथ फोर्स निर्माण गरेर माओवादीको आतङ्क हटाएको स्मरण गर्दै नेता बस्नेतले अहिले पनि यो युथ भोलेन्टियर्स फोर्सले सबै खालका अराजकता विरुद्ध काम गर्ने जानकारी दिए ।


सम्बन्धित समाचार