१७ कात्र्तिक, काठमाडौँ । जनमत पार्टीभित्रको विभाजन रोक्न माग गर्दै अध्यक्ष डा.सीके राउत ले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
पार्टी विभाजनको यो महत्त्वपूर्ण मुद्दामा आज सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा सुनुवाइ हुँदैछ। यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठ को इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै विभाजनसम्बन्धी अहिलेसम्म भएका निर्णयहरूलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। साथै, अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
आजको सुनुवाइले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा निर्णय गर्नेछ। यदि आदेश निरन्तरता पाएमा विभाजन पक्षको नयाँ दल दर्ता प्रक्रिया तत्काल रोकिनेछ।
रिटको माग र विभाजनको पृष्ठभूमि
अध्यक्ष राउतले आफ्नो रिटमा अलग्गै दल दर्ता गराउन निर्वाचन आयोगमा दिइएको निवेदनलाई अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका थिए । राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यहरूले आइतबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि औपचारिक निवेदन दिएका थिए ।
राउतको रिटमाथिको आजको सुनुवाइले जनमत पार्टीको विभाजन र नयाँ दल दर्ता प्रक्रियाको भविष्य निर्धारण गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ।















