Logo

१७ कात्तिक,काठमाडौं । निवर्तमान सांसद तथा नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले आफूहरू एमाले फर्कने तयारीमा रहेको खुलासा गरेका छन्। उनले एमाले नेतृत्वसँग छलफल भइरहेको जनाउँदै सोमबारसम्म टुंगो लाग्ने सम्भावना रहेको बताए।

श्रेष्ठका अनुसार एमाले फर्किने विषयमा केही दिनदेखि निरन्तर कुराकानी भइरहेको छ। उनले भने, “एमालेमा फर्कने भन्ने निर्णय हामीले गरिसकेका छौं। उसले बाटो खोलेको छैन, तर छलफल भइरहेको छ। आज केही न केही निष्कर्ष निस्कन्छ।”

श्रेष्ठले आफूहरू माओवादी केन्द्रसँग एकता प्रक्रिया वा झलनाथ खनाल–घनश्याम भूसाल नेतृत्वको पुनःगठन अभियानमा सहभागी नहुने स्पष्ट पारेका छन्।
“अब बीचमा अल्झिएर बस्दैनौं। हाम्रो स्पष्ट कुरा छ— माओवादीसँग एकता पनि होइन, पुनःगठन पनि होइन,” उनले भने।

उनका अनुसार एमाले फर्कने तयारीमा रामकुमार झाँक्री, अमरबहादुर थापा, डा. वंशिधर मिश्र, होम बुढाथोकी, पीताम्बर तिमिल्सिना, अर्जुन राई लगायतका नेताहरू पनि छन्। उनले भने, “केन्द्रीय नेताहरूको हकमा एकता गर्नेभन्दा एमाले फर्कने पक्षमा धेरै छन्। प्रदेशदेखि जिल्ला तहसम्मका कार्यकर्ता पनि फर्कन तयार छन्।”

श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले समूहगत प्रवेशमा आपत्ति जनाए पनि त्यो ठूलो समस्या नभएको बताए। उनका शब्दमा, “एमाले हाम्रो आफ्नै घर हो। कम्पाउन्डबाट छिराउँछन् कि गेटबाट, त्यो उनीहरूको कुरा हो।”

उनीहरूले पार्टीमा पद वा हैसियतको खोजी नगरी इज्जत र सम्मानको अपेक्षा मात्र गरेको बताए। “हामीलाई पद चाहिएको होइन। मीठो बोले पुग्यो, इज्जत गरिदिए पुग्छ। क्षमता अनुसार जिम्मेवारी दिए पुग्छ,” श्रेष्ठले भने।

गत शुक्रबार एकीकृत समाजवादीले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। त्यसपछि आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ राजनीतिक दलबीच एकताको सहमति भएको छ। नयाँ एकीकृत पार्टीको केन्द्रीय समिति बैठक कात्तिक २० गते बस्ने तयारी छ।

तर समाजवादीभित्र अब किसान श्रेष्ठसहित केही नेताहरूको एमाले फर्कने तयारीले पार्टीभित्र फेरि राजनीतिक हलचल सुरु भएको छ।


सम्बन्धित समाचार