Logo

१७ कात्तिक,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार बिहान सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठकअघि प्रधानमन्त्री कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन्। छलफलमा मन्त्रालयगत कार्यप्रगति, सुधारका प्राथमिकता र आगामी कार्ययोजना सम्बन्धी विषयमा विस्तृत समीक्षा गरिएको थियो।

उक्त छलफलमा विषयगत मन्त्रालयका सचिवहरूले आफ्नो कार्ययोजना र तत्काल सुधारका प्राथमिकता प्रस्तुत गरेका थिए। प्रस्तुतिकरणपछि प्रधानमन्त्री कार्कीले ती योजनाहरूलाई “प्रशंसनीय र व्यावहारिक” भन्दै त्यसमा अझ प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइन्।

उनले भनिन्, “अन्तर मन्त्रालय र अन्तर निकाय समन्वयलाई बढावा दिनुहोस्। साझा उद्देश्यका कार्यक्रमहरूमा सहकार्य र नतिजामुखी कार्यशैली आवश्यक छ।”बैठकमा चालु प्रशासनिक सुधार, विकास बजेटको खर्च गति, र आगामी नीतिगत प्राथमिकता सम्बन्धी विषयमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ।

सरकारले निकट भविष्यमा नीति, योजना र कार्यान्वयनबीचको समन्वय र प्रभावकारिता बढाउने नयाँ कार्यढाँचा ल्याउने तयारी गरेको बताइएको छ।


सम्बन्धित समाचार