Logo

१८ कार्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य जनार्दन शर्माबीच लामो समयपछि भएको भेट राजनीतिक बिदाइको अन्तिम क्षण बनेको छ।

माओवादीले नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग पार्टी एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट शर्मा फरक बाटो लिने निर्णयमा अडिग रहेपछि आइतबार सानेपामा दुवैबीच बिदाइ भेटवार्ता भएको हो।

भेटमा दाहालले शर्मालाई पार्टीमा रहन आग्रह गरे पनि उनले “अब माओवादीलाई जीवित राख्दै नयाँ बृहत् कम्युनिस्ट एकता अभियानमा लाग्नेछु” भन्दै अडान दोहोर्‍याए।
शर्माले भने, “तपाईंले माओवादीलाई माधव नेपालको पार्टीसँग मिलाउनुभयो। म माओवादीलाई जीवित राखेर जान्छु। बृहत् एकतापछि कुनै घुम्तीमा भेटौंला।”

भेटमा दाहालले पार्टी एकतापछि हुने महाधिवेशनमा आफूले नेतृत्व हस्तान्तरण गर्ने आश्वासन दिए पनि शर्माले विश्वास गरेनन् । “केन्द्रीय समितिले दुई पटक विशेष महाधिवेशन गर्ने निर्णय गर्‍यो। तपाईंले विभिन्न बहानामा टार्दै आउनुभयो,” शर्माले भने, “अब तपाईंले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुहुन्छ भन्ने पत्याउन सकिँदैन।”

शर्माले भेटमा २०४६ सालको जनआन्दोलनदेखि दसवर्षे जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणसम्मको सहकार्य सम्झिँदै भने, “तपाईं र मबीच लामो सहकार्य रह्यो। मैले तपाईंलाई नेता मानेँ। तर अब तपाईंले माओवादीलाई अरूसँग मिलाउनुभयो, म माओवादीमै रहन्छु।”

४२ सालमा रुकुमबाट सुरू भएको सहयात्राको अन्त्य

दाहाल र शर्माको पहिलो भेट २०४२ सालमा रुकुममा भएको थियो । युद्धकालमा दाहाल ‘सुप्रिम कमान्डर’ थिए भने शर्मा उनका चार ‘डेपुटी कमान्डर’ मध्ये एक।

२०६४ सालमा शान्ति प्रक्रियामा आएपछि शर्माले दाहालसँगै खुला राजनीतिमा प्रवेश गरे र सेनामा लडाकु समायोजनदेखि संविधान निर्माणसम्मका महत्त्वपूर्ण काममा नजिक रहे।
दाहालको नजिकका सल्लाहकार मानिने शर्मा मन्त्रीसमेत बनेका थिए।

तर, २०७८ पुसको आठौं महाधिवेशनपछि दुवैबीच अविश्वास बढ्न थाल्यो। शर्मा र वर्षमान पुन महासचिवका आकांक्षी थिए, तर दाहालले देव गुरुङलाई महासचिव बनाएपछि शर्मा असन्तुष्ट बने।

त्यसपछि उनले पार्टीमा लोकतान्त्रिक प्रणाली र नेतृत्व हस्तान्तरणको आवश्यकता जोड्दै फरक मत राखे । २०७८ साउनमा उनले १४ पृष्ठ लामो लिखित फरक मत पेश गरेपछि सम्बन्ध झनै चिसियो ।

वैचारिक दूरीदेखि व्यक्तिगत अविश्वाससम्म

२०८२ वैशाखमा रुकुम पुगेका बेला दाहालले “केही व्यक्तिले बाटो बिराउँदा पार्टी बिराउँदैन” भनेपछि शर्मा आक्रोशित बने। “मलाई पटक–पटक पार्टी छाड्न भनियो, तर मैले पार्टी बनाउन आग्रह गरेँ, त्यसको सुनुवाइ भएन,” उनले भनेका थिए। दाहालले उल्टै “विदेशी शक्तिले जनार्दनलाई उचालेको” आरोप लगाउँदै आएका छन्।

माओवादीमा दाहाललाई चुनौती दिने नेता टिक्न नसकेको इतिहास छ । २०६९ मा मोहन वैद्य ‘किरण’ले दाहालविरुद्ध फरक मत राख्दै अलग पार्टी बनाए । पछि बाबुराम भट्टराईले पनि नयाँ शक्ति पार्टी गठन गरी अलगिए । अहिले त्यही क्रममा जनार्दन शर्मा पनि दाहालसँग छुट्टिँदै छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, “शर्मा दाहालका नजिकका र विश्वासपात्र नेतामा परे। तर वैचारिक मतभेद र नेतृत्व हस्तान्तरणमा अविश्वासले उनीहरूबीचको दुई दशक लामो सहयात्रा अन्त्यमा पुगेको हो।”


सम्बन्धित समाचार