Logo

१९ कार्तिक, काठमाडौँ । आईसीसी विश्वकप लिग–टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

खेल आईसीसी एकेडेमी ग्राउण्ड, दुबईमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। लगातार तीन हार व्यहोरेको नेपालका लागि यो खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ।

सिरिजका सुरुवाती दुई खेलमा अमेरिका र यूएईसँग एकपक्षीय हार बेहोरेको नेपालले तेस्रो खेलमा अमेरिकाविरुद्ध केही सुधारिएको प्रदर्शन गरे पनि जित हात पार्न सकेन। नेपालले अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिए पनि बलिङ कमजोर रहँदा उक्त योगफल जोगाउन असफल भएको थियो।

लगातारको हारसँगै नेपालका लागि सिधै विश्वकप छनोटसम्म पुग्ने सम्भावना कमजोर बन्दै गएको छ। साथै, एकदिवसीय (ओडीआई) मान्यता जोगाउन पनि अब सशक्त प्रदर्शन आवश्यक देखिएको छ।

हालै सम्पन्न टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा अपराजित च्याम्पियन बनेर २०२६ को टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको नेपालले ओडीआई फर्म्याटमा भने कमजोर प्रदर्शन गर्दै आएको छ।

यस सिरिजमा नेपालले तीनै खेल गुमाइसकेको छ र आजको खेलमा सान्त्वना जितको खोजीमा हुनेछ। उता, यूएईले पनि घरेलु मैदानमा अपेक्षित प्रदर्शन गर्न सकेको छैन। अमेरिकासँगका दुबै खेलमा हार बेहोरेको यूएईले नेपालविरुद्ध मात्र जित निकालेको थियो।

लिग–टूको अंकतालिकामा नेपाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको छ भने यूएई समान खेलमा ८ अंकका साथ पुछारमा छ।

आजको खेल नेपालका लागि केवल अंक सुधारको मात्रै होइन, मनोबल उकास्ने अवसर पनि बनेको छ । यदि नेपाल आजको खेल जित्न सफल भयो भने यस सिरिजलाई सम्मानजनक अन्त्य गर्न सक्नेछ।


सम्बन्धित समाचार