Logo

२५ कार्तिक, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला नजिक सोमबार साँझ भएको विस्फोटमा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। विस्फोट सुभाष मार्गको ट्राफिक सिग्नलमा पार्क गरिएको हुण्डाई आइ-२० कारमा भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन्।

विस्फोटपछि आसपासका सवारीसाधनमा क्षति पुगेको र केही पैदल यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतका संघीय गृहमन्त्री अमित शाहले विस्फोटपछिको अवस्थाबारे जानकारी दिँदै घटनालाई “गम्भीर सुरक्षा चुनौती” भन्दै सबै सम्भावनालाई ध्यानमा राखेर गहिरो अनुसन्धान गर्न निर्देशन दिएका छन्।

शाहले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, “दिल्ली क्राइम ब्रान्च र स्पेशल ब्रान्चका टोलीहरू सूचना पाएको १० मिनेटभित्र घटनास्थलमा पुगेका थिए। सबै विकल्पका आधारमा अनुसन्धान भइरहेका छन् र नजिकैका सीसीटीभी फुटेज पनि जाँच भइरहेको छ।”

उनले थपे, “मैले दिल्लीका प्रहरी प्रमुख र विशेष शाखाका इन्चार्जसँग प्रत्यक्ष समन्वय गरेको छु। प्रारम्भिक अनुसन्धानका प्रतिवेदनपछि आवश्यक कदम तुरुन्तै चालिनेछ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गृहमन्त्री शाहसँग सम्पर्क गरी विस्फोटको अवस्थाबारे विस्तृत जानकारी लिएका छन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार मोदीले घाइतेको उपचारमा आवश्यक सहयोग सुनिश्चित गर्न निर्देशन दिएका छन्।

स्थानीय लोकनायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी) का एक वरिष्ठ अधिकारीले भने, “हामीकहाँ ल्याइएका आठ जनाको मृत्यु भइसकेको छ भने सात जनाको उपचार जारी छ। केहीको अवस्था गम्भीर छ।” अस्पतालले घटनापछि आपतकालीन वार्डमा चिकित्सक र नर्सहरूको अतिरिक्त टोली परिचालन गरेको छ।

दिल्ली प्रहरीका उच्च अधिकारीहरूले घटनास्थललाई सुरक्षा घेराभित्र लिएर अनुसन्धान सुरु गरेको जनाएका छन्। प्रारम्भिक विवरणअनुसार, कार विस्फोटको कारण र स्रोत अझै खुल्न बाँकी छ। “हामी कुनै निष्कर्षमा पुग्ने चरणमा छैनौँ। अनुसन्धान जारी छ,” एक प्रहरी अधिकारीले भने।

राजधानी दिल्लीको लालकिल्ला परिसरमा भएको यो विस्फोट पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो घटना मानिएको छ। भारतको गृहमन्त्रालयले यसबारे विस्तृत प्रतिवेदन तयारीका लागि उच्चस्तरीय संयन्त्र गठन गरेको जनाएको छ।


सम्बन्धित समाचार