Logo

८ चैत,वीरगञ्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी नेताले टायर बालेर प्रदर्शन गरेका छन् । चुनावको पक्षधर रहेका विद्यार्थी संगठनका नेताले स्थगित स्ववियु निर्वाचन यही चैत मसान्तभित्र गराउन माग गर्दै आज क्याम्पस परिसरमै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा विवादका कारण चैत ५ मा हुन नसकेको स्ववियु निर्वाचन क्याम्पस प्रशासनले आगामी जेठ १३ गते गर्ने निर्णय गरेको छ । तर यसअघि मंगबार बसेको चुनाव पक्षधर विद्यार्थी संगठनहरूको बैठकले नेविसंघका तर्फबाट प्रत्याशी मुनराज तिवारीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो ।

संघर्ष समितिमा नेविसंघसँगै लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ, अनेरास्ववियु (क्रान्तिकारी), नागरिक विद्यार्थी समाज लगायतका संगठन र समूहको पनि प्रतिनिधत्व छ । उक्त संघर्ष समितिकै अगुवाइमा आज विद्यार्थी नेताले क्याम्पस परिसरमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी संघर्ष समितिका संयोजक तिवारीले चैतमै निर्वाचन हुनुपर्ने माग राखेर आजदेखि संघर्ष समितिले आन्दोलन थालेको र पहिलो दिन टायर बालेर प्रदर्शन गरिएको बताए ।

यदि क्याम्पस प्रशासनले चैत मसान्तभित्र निर्वाचन गराउन तत्काल प्रक्रिया नथाले अझ सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनले दिए । यहि माग राखेर संघर्ष समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको थियो । यस्तै चैत २ गते क्याम्पसका विभिन्न शाखामा तालाबन्दी पनि गरेको थियो ।

क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले चैत १२ देखि स्नातक संकायको चौथो वर्षको परीक्षा सुरु हुने र परीक्षा चैत महिनाभर चल्ने भएका कारण चैतमा निर्वाचन गराउन सम्भव नभएको बताउँदै आएका छन् । त्यसमा पनि विद्यार्थी संगठनले नै क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेकाले यसले समस्या थप बढाएको उनको भनाइ छ ।

 


सम्बन्धित समाचार