Logo

२८ कार्तिक, वीरगञ्ज । भारतको महत्वपूर्ण बिहार विधानसभा चुनावको मत गणना आज बिहान ८ बजेदेखि सुरु हुँदैछ। दुई चरणमा नोभेम्बर ६ र ११ मा सम्पन्न भएको निर्वाचनको परिणाम आज बेलुकासम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।

राज्यको कूल २४३ सिटका लागि भएको यस चुनावमा मतदाताले उत्साहजनक सहभागिता जनाएका थिए, जसमा पहिलो चरणमा ६५% र दोस्रो चरणमा कीर्तिमानी ६७% मत खसेको थियो ।

निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरिएका अधिकांश एक्जिट पोलहरूले भारतीय जनता पार्टी (BJP) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (NDA) लाई स्पष्ट बहुमत आउने सङ्केत गरेका छन्।

एनडीएको अनुमानित जित: १३ एजेन्सीहरूको औसत सर्वेक्षणले एनडीएलाई १५४ सिट जित्ने भविष्यवाणी गरेको छ। यो बहुमतको आँकडा १२२ भन्दा धेरै हो।

महागठबन्धनको स्थिति: तेजस्वी यादव नेतृत्वको विपक्षी महागठबन्धन ले औसतमा ८४ सिट जित्ने अनुमान गरिएको छ।

अन्य दल: बाँकी ५ सिट अन्य साना दल वा स्वतन्त्र उम्मेदवारले जित्न सक्ने आँकलन गरिएको छ ।

एक्जिट पोलका अनुसार यस पटकको परिणामले राजनीतिक समीकरणमा ठूलो फेरबदल ल्याउने देखिएको छ । एनडीएले गत चुनावको तुलनामा करिब २९ सिट बढी जित्ने र महागठबन्धनले २६ सिट गुमाउने देखिएको छ।

पहिलो पटक चुनावी मैदानमा उत्रिएको प्रशान्त किशोरको जन सुरज पार्टी ले एक्जिट पोलमा कुनै खास प्रभाव पार्न सकेको छैन र उनीहरूले ३ देखि ५ सिट जित्ने अनुमान छ।

मतगणना आज बिहान ८ बजेदेखि सुरु हुँदै गर्दा, सबैको ध्यान वर्तमान मुख्यमन्त्री नीतीश कुमार (NDA) को नेतृत्वमा एनडीएले आफ्नो सत्ता कायम राख्छ वा पूर्व उप-मुख्यमन्त्री तेजस्वी यादव (महागठबन्धन) ले ‘तख्तापलट’ गर्न सफल हुन्छन् भन्नेमा केन्द्रित छ।


सम्बन्धित समाचार