२९ कार्तिक, काठमाडौँ । भारतको बिहार राज्य विधानसभा चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । कुल २४३ सिटका लागि सम्पन्न मतदानको मतगणना गएराति सकिएको हो ।
नतिजाअनुसार सत्तारुढ राष्ट्रीय जनतान्त्रिक गठबन्धन (एनडीए)ले स्पष्ट दुई तिहाइ बहुमत प्राप्त गरेको छ ।
भारतीय निर्वाचन आयोगद्वारा सार्वजनिक अन्तिम विवरणअनुसार एनडीएले २०२ सिटमा विजय हासिल गरेको हो । गठबन्धनभित्र सबैभन्दा ठूलो दलको रूपमा भारतीय जनता पार्टी (भाजपा) उभिएको छ, जसले ८९ सिट जित्दै पहिलो दल बन्न सफल भएको छ ।
त्यसैगरी एनडीएकै प्रमुख घटक जनता दल (युनाइटेड) ले ८५ सिटमा जित दर्ता गरेको छ ।
यसपटक मुख्य प्रतिस्पर्धी मानिएको कांग्रेस नेतृत्वको महागठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी) भने अपेक्षाकृत कमजोर परिणामसहित ३४ सिटमा सीमित भएका छन् । बाँकी ७ सिट अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
बिहारमा यसपालि दुई चरणमा (नोभेम्बर ६ र ११ तारिखमा) मतदान भएको थियो । निर्वाचन इतिहासमै दुर्लभ रुपमा ६७.३ प्रतिशत मतदाताको सहभागिता दर्ता भएको छ, जुन सन् १९५१ पछि सबैभन्दा धेरै मतदान प्रतिशत मानिएको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको चुनावी नतिजालाई स्वागत गर्दै सो विजयी परिणामलाई “सुशासनको जीत” भएको टिप्पणी गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले गठबन्धनप्राप्त जनविश्वासले आगामी कार्यकालमा प्रभावकारी शासन र विकासका कार्यक्रमप्रति जनताको भरोसा मजबुत भएको बताएका छन् ।
विश्लेषकहरूका अनुसार उच्च मतदान प्रतिशत तथा मतदाताको व्यापक सहभागिता यसपटकको चुनावको प्रमुख विशेषता बनेको छ । एनडीएको बहुमतसहितको यो परिणामसँगै बिहारमा पुनः स्थिर सरकार गठन हुने संकेत देखिएको छ ।

















