२९ कार्तिक, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तयारीका काम तीव्ररूपमा अघि बढाइएका छन्। आगामी मंसिर १ गतेबाट सुरु हुने लिगका लागि मैदान विकास तथा पूर्वाधार स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ।
पहिलोपटक कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गरिएको छ। जडान कार्य सम्पन्न भएसँगै हाल फ्लडलाइटको परीक्षण भइरहेको आयोजक समितिले जनाएको छ। यसले नेपाली क्रिकेटमा पहिलोपटक रात्री खेल सञ्चालनको सम्भावना अझ नजिक ल्याएको छ।
लिगका लागि १० हजार दर्शक क्षमताको नयाँ प्याराफिट निर्माण कार्य पनि सकिएको छ। साथै स्टेडियमका पुराना सिटहरू फेर्ने काम पूरा भएपछि मैदानको दर्शक व्यवस्थापन पूर्वाधार उल्लेख्य रूपमा सुधारिएको छ।
उता पिच, आउटफिल्ड मर्मत र अन्य प्राविधिक तयारीहरू पनि तीव्र गतिमा भइरहेको छ। लिग सुरु हुनु अघि सबै तयारी पूरा हुनेमा आयोजक विश्वस्त छन्।
दोस्रो संस्करणको एनपीएललाई सफल र अंतर्राष्ट्रिय स्तरको बनाउन आवश्यक पूर्वाधार विस्तार र आधुनिकीकरणमा यसपटक विशेष जोड दिइएको छ।

















