२९ कात्तिक,काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली संकलन सुरु भएदेखि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ। निर्वाचन आयोगले कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाताले जैविक विवरण (फोटो तथा औँठाछाप) उपलब्ध गराउन सक्ने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको संख्या उल्लेखनीय रूपमा बढेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक २९ गते राति ९ः०० बजेसम्म राष्ट्रिय परिचयपत्रमार्फत ५० हजार २१७ जना पुरुष, ३० हजार २३५ जना महिला र चार अन्य समूहका गरी कुल ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन्।
यससँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको कुल सङ्ख्या दुई लाख ८१ हजार १२९ पुगेको छ। आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन लक्षित गर्दै मतदाता नामावली दर्ता र अद्यावधिक कार्य निरन्तर जारी राख्ने जनाएको छ।

















