२९ कात्तिक,वीरगञ्ज । पर्सामा दोस्रो चरणको हैजा रोग प्रतिकार्य खोप अभियानले ९० प्रतिशत सफलता हासिल गरेको छ। बिहीबार सम्पन्न अभियान अन्तर्गत कूल लक्षित जनसंख्याको ९० प्रतिशतले खोप लिएको पर्सा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
कात्तिक १३ देखि सुरु भएको दोस्रो चरणको अभियानले छठअघि सञ्चालन गरिएको अभियानको ८४ प्रतिशत कभरेजलाई ९० प्रतिशतसम्म पुर्याएको हो। ठाकुरका अनुसार जिल्लाका अधिकांश स्थानीय तहमा समान रूपमा उच्च कभरेज देखिएको छ।
उनले भने, “१० प्रतिशतले खोप नलिने कारणमा जागरुकताको कमी प्रमुख कारण हो। खोप आफ्नै सुरक्षाको लागि हो भन्ने बुझाइ कतिपयमा छैन।”
छठअघि सञ्चालन भएको अभियानमा ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप दिने लक्ष्य रहेकोमा ५ लाख ४७ हजार ३ सय ११ जनाले मात्र खोप लिएका थिए। यसपटक जिल्लाका १४ वटै स्थानीय तहमा अभियान सञ्चालन गरिएको थियो। सबैभन्दा बढी जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत, सबैभन्दा कम जिरा भवानी गाउँपालिकामा ७८ प्रतिशत कभरेज भएको थियो। अन्य स्थानीय तहमा सफलता क्रमशः छिपहरमाई ९३%, बिन्दवासिनी ९१%, सखुवाप्रसौनी ८८%, ठोरी ८६%, पटेर्वासुगौली र धोबिनी ८५%, पर्सागढी ८४%, पोखरिया ८३%, वीरगन्ज महानगर ८२% देखियो।
वीरगन्जमा फैलिएको हैजा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय खोप समन्वय समूह (ICG) मार्फत खोप उपलब्ध गराएको थियो। अभियानमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा १ हजार ५ सय ४४ महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएको थियो।
वीरगन्ज महानगरमा हालसम्म झाडापखाला र हैजाका १ हजार ५ सय ६७ बिरामी उपचारार्थ आएका छन्, जसमा २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ। पोखरिया नगरपालिकामा पनि १८ जनामा संक्रमण पुष्टि भएको थियो। तर परीक्षणमा वीरगन्जका विभिन्न स्थानका पानीमा हैजाको जीवाणु फेला परेको छैन र महामारीको श्रोत पत्ता लागेको छैन।
खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउने र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

















