३० कात्तिक,पाकिस्तान । पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार वायु गुणस्तर सूचकांक (AQI) ३९६ दर्ता भएसँगै विश्वकै दोस्रो सबैभन्दा प्रदूषित सहरमा परिणत भएको एआरवाई न्युजले जनाएको छ। पञ्जाब प्रान्तका अन्य शहरहरू पनि अत्यन्तै खतरनाक वायु प्रदूषणको चपेटामा छन्।
रिपोर्ट अनुसार फैसलाबाद AQI ५७१ सहित पाकिस्तानको सबैभन्दा प्रदूषित शहर बनेको छ भने गुजरानवाला ५७०, लाहोर ३९६, र मुल्तान २५७ स्तरमा दर्ता भएका छन्। गत वर्षदेखि नै जाडो सिजनमा पञ्जाबले घना धुवाँ र वायु प्रदूषणको समस्या झेल्दै आएको छ।
विशेषज्ञहरूले कम गुणस्तरको डिजेल धुवाँ, चिसो मौसम, तापक्रम गिरावट, र कृषि जग्गामा बाली जलाउने कामहरूलाई प्रदूषणको मुख्य कारण भनेका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार लाहोरको वायु प्रदूषण ८० गुणा बढी पुगेको जनाएको छ।
सार्वजनिक स्वास्थ्य संकटलाई मध्यनजर गर्दै प्रान्तीय सरकारले विद्यालय बन्द, व्यवसायिक प्रतिष्ठानको समय सीमित, र नागरिकहरूलाई घरभित्र बस्ने तथा मास्क प्रयोग गर्न, एयर प्युरिफायर चलाउन निर्देशन जारी गरेको छ।
ह्युमन राइट्स वाचको प्रतिवेदनले लाहोरमा हरियाली क्षेत्रको विनाश, कंक्रीट संरचनाको विस्तार, व्यावहारिक सार्वजनिक यातायातको अभाव, र जीवाश्म इन्धनको अत्यधिक प्रयोगलाई वायु प्रदूषणको मुख्य कारणको रूपमा उल्लेख गरेको छ।
विशेषज्ञहरूका अनुसार शहरमा वायु प्रदूषण नियन्त्रणमा ल्याउन सार्वजनिक यातायात सुधार, हरियाली विस्तार, र औद्योगिक धुवाँ नियन्त्रण अत्यावश्यक भएको छ।

















