Logo

३० कात्तिक,वीरगञ्ज । नेपाली सेनाले ‘नेपाल–नेपाली’ नीतिअन्तर्गत पर्सागढी नगरपालिकामा विशेष निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। २१० वर्षअघि वि.सं. १८७१ पुस १९ गते तत्कालीन ब्रिटिश सेनामाथि प्राप्त ऐतिहासिक विजयलाई स्मरण गर्न पर्सागढीको ऐतिहासिक क्षेत्रमै शिविर आयोजना गरिएको हो।

स्वास्थ्य सेवा पहुँच सीमित रहेका स्थानीय बासिन्दालाई लक्षित गरी संचालन गरिएको शिविरमा करिब ६ सयभन्दा बढी महिला, पुरुष तथा वृद्ध–वृद्धाले ओपीडी, अर्थोपेडिक, छाती तथा स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गराएका छन्। परीक्षणपछि आवश्यक औषधि निःशुल्क वितरण गरिएको श्री श्रीजंग गण वीरगंजका प्रमुख लोकेन्द्र कार्कीले जानकारी दिए।

उनका अनुसार गाउँका धेरै नागरिक समयमा स्वास्थ्य सेवा लिन चिकित्सकसम्म पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखेर यस्ता शिविर सञ्चालन गरिँदै आएको छ। सेवा र सेनाबीचको आपसी सम्बन्ध मजबुत बनाउँदै जिल्लादेखि गाउँसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर निरन्तर सञ्चालन भइरहेकामा गण प्रमुख कार्कीले जोड दिए।


सम्बन्धित समाचार