Logo

१ मंसिर, काठमाडौं। भारतको राजधानी नयाँदिल्लीमा गत हप्ता भएको घातक कार बम विस्फोट प्रकरणमा प्रहरी र राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले एक व्यक्तिलाई पक्राउ गरेको छ।

एनआईएका अनुसार विस्फोटमा प्रयोग गरिएको कार पक्राउ परेका व्यक्तिकै नाममा दर्ता भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको भारतीय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आत्मघाती हमलाकारीसँग मिलेर विस्फोट योजना तयार पारेको आरोप लगाएको छ। उनी भारत प्रशासित कश्मीरका बासिन्दा भएको पुष्टि गरिएको छ।

बम विस्फोट दिल्लीको ऐतिहासिक लालकिल्ला नजिकैको मेट्रो स्टेशन क्षेत्रमा भएको थियो, जहाँ दैनिक हजारौँ मानिसको आवतजावत हुन्छ। सुरक्षा निकायका अनुसार घटना अत्यधिक संवेदनशील स्थानमा भएको भएकाले यसलाई उच्च स्तरीय आतंकवादी गतिविधिको रूपमा लिइएको छ।

विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको र २० जना घाइते भएको भारतीय अधिकारीहरूले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
यस घटनापछि दिल्लीमा सुरक्षा सतर्कता कडा गरिएको छ भने ठूलो संख्यामा प्रहरी र सुरक्षा निकायका अतिरिक्त फोर्स संवेदनशील क्षेत्रहरूमा परिचालन गरिएको छ।

दिल्ली प्रहरीले भारत प्रशासन अन्तर्गत कश्मीर क्षेत्रमा हालै पक्राउ परेका सात व्यक्तिसँग विस्फोटमा संलग्न भएको सम्बन्ध रहेको वा नभएको विषयमा अनुसन्धान जारी रहेको जनाएको छ। सुरुवाती तथ्यहरूले यी समूहबीच समन्वय वा सम्पर्क रहेको आशङ्का गरिएको छ।

१७औँ शताब्दीमा निर्माण गरिएको तथा भारतका प्रधानमन्त्रीहरूले हरेक वर्ष स्वतन्त्रता दिवसको मुख्य सम्बोधन गर्ने लालकिल्ला दिल्लीको प्रमुख पर्यटकीय तथा राजनीतिक हिसाबले संवेदनशील क्षेत्र मानिन्छ। त्यही क्षेत्र नजिकै विस्फोट हुनु भारत सरकारका लागि सुरक्षा चुनौती पुनः गहिरिएको संकेतको रूपमा लिइएको छ।

विस्फोट प्रकरणको उच्चस्तरीय अनुसन्धान जारी रहेको बताइएको छ। भारतीय सुरक्षा निकायहरूले सम्भावित आतङ्कवादी सञ्जाल, आर्थिक स्रोत र सञ्चालन शैलीबारे थप जानकारी सङ्कलन गर्न बहुपक्षीय खोजतलास बढाएका छन्।


सम्बन्धित समाचार