Logo

१ मंसिर,काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

काठमाडौँका बेन चार्ल्सवर्थले ४६ रनको उत्कृष्ट पारी खेले भने आकाश त्रिपाठीले ३९ तथा मिलिन्द कुमारले १९ रन जोडे। बलिङतर्फ ललित राजवंशी, निकोल लोफ्टी इटन, सञ्जय कृष्णमूर्ति, किशोर महतो र अनिल साहले समान एक–एक विकेट लिएका थिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जनकपुरका आसिफ शेखले ५४ रनको उत्कृष्ट पारी खेले भने मयन यादव ३४ रनमा अविजित रहे। काठमाडौँका मिलिन्द कुमारले ३ विकेट लिए।

आजदेखि सुरु भएको एनपीएलको फाइनल खेल मंसिर २७ गते हुने छ। प्रतियोगितामा जनकपुर र काठमाडौँसहित विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी जम्मा आठ टोली सहभागी छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार प्रतियोगिताका ३२ मध्ये २३ खेल राति फ्लडलाइटमा हुनेछ। यसपटक कीर्तिपुर रङ्गशालामा १० हजार दर्शक अट्न सक्ने प्यारापिट निर्माण गरिएको पनि क्यानले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ५१ लाख, तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउनेछ।


सम्बन्धित समाचार