२ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण जनकपुर रोयल्सका लागि निराशाजनक सुरुआतसहित प्रारम्भ भएको छ। सोमबार भएको उद्घाटन खेलमा जनकपुर काठमान्डु गोखार्जसँग पराजित भयो ।
खेलपछि जनकपुरका कप्तान अनिल साहले शीर्षक्रमका ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोलीले हार बेहोर्नुपरेको प्रतिक्रिया दिए।
कप्तान साहका अनुसार ओपनर आसिफ शेखसँग पहिलो क्रमका अरू ब्याटरले साथ दिन नसक्नु हारको प्रमुख कारण बन्यो। “राम्रो साझेदारी हुन नसक्दा ब्याटिङमा निरन्तर दबाब पर्यो,” उनले भने ।
साहले सुरुआतमै विकेट खसिरहनु कमजोरी रहेको बताए । शुरुवात राम्रो हुन नसक्दा एक सय ६० रन बनाउने लक्ष्य पूरा नभएको उनको भनाइ थियो। आफूहरूले दिएको लक्ष्य धेरै न्यून रहेको पनि उनले उल्लेख गरे ।
जनकपुरकाे कमजोर सुरुआत
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो। टिमका लागि ओपनर आसिफ शेखले ५४ रनको उत्कृष्ट पारी खेले भने मयन यादव ३४ रनमा अविजित रहे। तर बाँकी शीर्षक्रमले योगदान दिन नसक्दा टिम प्रतिस्पर्धी स्कोर बनाउन असफल भयो।
काठमाण्डौका मिलिन्द कुमारले प्रभावकारी बलिङ गर्दै ३ विकेट लिए। कप्तान साहका अनुसार, “पीचले स्पिनरलाई मद्दत गरेको थियो तर हामीले सोअनुसार अनुकूलन गर्न सकेनौं।”
काठमाण्डौको सुसंगत जवाफ
१ सय ३१ रनको लक्ष्य पछ्याउँदै काठमाण्डौ गोखार्जले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटायो। बेन चाल्र्सवर्थले ४६ रन, आकाश त्रिपाठीले ३९ रन र मिलिन्द कुमारले १९ रन बनाए।
जनकपुरका ललित राजवंशी, निकोल लोफ्टी इटन, सञ्जय कृष्णमूर्ति, किशोर महतो र कप्तान अनिल साहले समान एक–एक विकेट लिए पनि विपक्षी ब्याट्सम्यानको साझेदारी रोक्न सकेनन् ।
सोमबारदेखि सुरु भएको एनपीएलमा आठ टोली, जनकपुर रोयल्स, काठमाण्डौ गोखार्ज, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।
क्यानका अनुसार प्रतियोगिताका ३२ मध्ये २३ खेल फ्लड्लाइटमा हुनेछ। यसपटक मैदानमा १० हजार दर्शक क्षमता भएको नयाँ प्यारापिट समेत निर्माण गरिएको छ।
एनपीएलको फाइनल खेल मंसिर २७ गते हुनेछ। विजेता टोलीले १ करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख, तेस्रो स्थानले २५ लाख र चौथो स्थानले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

















