Logo

९ चैत, सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ रंगपुरमा स्थापना गरिएको शिवम लेयर्स फार्म प्रालिका कारण वर्षौदेखि नागरिक कष्टकर जीवन बिताउन बाध्य भएका छन् । फार्मका कारण त्यस क्षेत्रका एक दर्जन भन्दा बढि नागरिकले दिनरात समस्या झेल्न बाध्य भएका हुन् ।

करिब पचाँस हजारभन्दा बढि कुखुरा पालन गरिएको सो फार्मबाट उत्पन्न वायू प्रदुषण एवम् झिंगाका कारण आसपासका हजारौ नागरिकको स्वास्थ्यमाथि खेडवाड भएको स्थानीयको गुनासो छ । पालिकाको वडा नं १ देखि ३ अन्तर्गत पर्ने मकवानीटोल, वनकटवा, चाफी, भाथा, थरघटी, धर्मवस्ती, रामपुर, बैजनाथपुर र रंगपुरका नागरिकहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

पटेर्वासुगौली गाउँपालिका–२ थरघटीकी गृहणी मिना देवीले आफूले खाने खानामा समेत झिंगा पर्ने गुनासो गर्दै झिंगा धपाउँदै खाना खान बाध्य भएको गुनासो गर्नुभयो । जसका कारण परिवारमा सधै कोही न कोही बिरामी गर्ने गरेको उहाँले बताउनुभयो । प्रदूषित वातावरण तथा झिंगाका कारण झाडापखाला, ज्वरो, छालाका रोगको प्रकोपबाट आफूहरु मारमा परेको उहाँले गुनासो गर्नुभयो ।


सो क्षेत्रमा पर्ने विद्यालय, स्वास्थ्य सस्थांहरुमा पनि सधै झिंगा भन्किने र वातावरण नै दुर्गन्धित बनाएकाले नर्ककै सजाय गाउँमा भोग्नुपरेको स्थानिय अबिताबच्चन चौधरीले बताउनुभयो । उहाँले यस क्षेत्रमा फार्म गर्ने हो भने यहाँका स्थानियबासिन्दालाई अन्य स्थानमा सार्न उहाँले सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।

सहनै नसकिने दुर्गन्ध तथा गर्मी बढेसंगै गाउँबस्ती भरिनै यत्रतत्र झिंगा भन्कीने कारणले यहाँका सर्वसाधारण खाना खाने समय झुलभित्र पसेर खानुपर्ने अवस्था रहेको पटेर्वासुगौली गाउँपालिका–२ वनकटवाका साहदेव चौधरीले जानकारी दिनुभयो । दुर्गन्ध र फोहोर कै कारण फार्मको ५ किलोमिटर नजिकका गाउँहरुमा भोजभतेर गर्न नसकिने उहाँको भनाई छ । आफूहरुले कुनै कार्यक्रम, उत्सव मनाएर पाहुनाहरुलाई निम्तो गरेपनि उनीहरुको सहभागिता नहुने चौधरीले बताउनुभयो ।

सो क्षेत्रमा बाहिरका इष्टमित्र तथा आफन्तहरुले झिंगा र प्रदूषणका कारण घरमा आउन, खाना खान नमान्ने गाउँ कार्यपालिका सदस्य सविना बिकले बताउनुभयो । उहाँले विवाहका लागि छोरी माग्न गए अभिभावकले सिधा अस्विकार गर्ने गरेको बताउनुभयो ।

उक्त फार्मबाट निस्कने प्रदुषण तथा फोहरका कारण स्थानियहरु विभिन्न रोगको सशकार हुने गरेको स्वास्थ्य चौकी रगंपुरका एकजना स्वास्थ्य बताउनुभयो । उनीहरु विशेष झाडापखाला, टाउको दुख्ने, ज्वरो तथा श्वास सम्बन्धि रोगले ग्रसित हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यसका साथसाथै फार्मबाट निस्केको फोहोरकै कारण किसानले लगाउने बालीनालीमा समेत क्षति पुग्ने गरेका छ । विगत केही वर्षदेखि नजिकको बारीमा विभिन्न प्रकारका बिरुवामा बाला नलाग्ने स्थानीयले बताएका छन् । धान, गँहु, तोरी लगायतमा बाला र दाना नलाग्ने किसानको गुनासो छ । फार्म नजिक रहेका फलफूलको बगैँचामा फल नलागेको स्थानियको भनाई छ ।

शिवम लेयर्स फार्म प्रालिलाई सर्वसाधारणले बन्द गर्ने तथा विरोधमा गर्न थालेपछि व्यवस्थापन पक्षबाट कुटपिट गर्ने वा ज्यान मार्ने धम्की समेत आउने गरेका स्थानीयले बताएका छन् ।
यता पालिकाले चाडैँनै फार्म बन्द गर्न उद्योग प्रशासनलाई पत्र पठाईने गाउँपालिका उपाध्यक्ष ममता महतोले बताउनुभयो ।


सम्बन्धित समाचार