Logo

४ मंसिर, काठमाडौं ।  नेपालमा ए डिभिजन फुटबल क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यशैली र लिग सञ्चालनमा देखिएको ढिलासुस्ती तथा अनिश्चिततालाई लिएर विरोध प्रदर्शन गरेका छन् ।

आज बिहानै काठमाडौंको सातदोबाटोस्थित एन्फाको केन्द्रीय कार्यालयको गेटमा क्लबका प्रतिनिधिहरू धर्नामा बसेका छन् । उनीहरूको मुख्य माग एन्फा र क्लबहरूबीच विगतमा भएको सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने, लिगको एक वर्षको साइकल नियमित र व्यवस्थित रूपमा पूरा गर्नुपर्ने तथा एसियाली फुटबल महासंघ (एएफसी) को मापदण्ड अनुसार क्लब लाइसेन्स प्रणालीलाई कडाइका साथ लागू गर्नुपर्ने रहेको छ ।

क्लबहरूले ‘लिगको स्थायित्व र व्यवस्थित होस्’ भन्ने प्रमुख नारासहित धर्ना दिएका हुन्। हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिग नियमित नभएको अवस्थामा कहिले राष्ट्रिय लिग र कहिले शहीद स्मारक ए डिभिजन लिगको हल्ला चल्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले राष्ट्रिय लिग, ए डिभिजन लिग र बी डिभिजन लिग सबै समयमै र एक वर्षको साइकलभित्र पूरा हुनुपर्नेमा जोड दिएका छन् ।

क्लबहरूले बिहान ९ बजेदेखि नै प्लेकार्डसहित शान्तिपूर्ण धर्ना सुरु गरेका थिए, जबकि एन्फाले आज बिहान १० बजेका लागि छलफलमा बोलाएको थियो। प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र सबै प्रतियोगिता समयमै सम्पन्न गर्न दबाब दिने खालका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिरहेका छन् । क्लबहरूको यो प्रदर्शनलाई ध्यानमा राख्दै एन्फा गेट अगाडि सुरक्षाका लागि उल्लेख्य संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

यसअघि, नेपाल फुटबल खेलाडी संघले पनि ए डिभिजन लिग तत्काल सुरु गर्नुपर्ने माग गर्दै एन्फा कम्प्लेक्सको गेटमा धर्ना दिएको थियो। खेलाडी संघ र अहिले क्लबहरूको प्रदर्शनले नेपालको घरेलु फुटबललाई नियमित, व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने विषयमा एन्फामाथि चौतर्फी दबाब बढेको देखिएको छ।


सम्बन्धित समाचार