५ मंसिर,वीरगञ्ज । वीरगञ्जमा डाउट, कोलरा तथा रेस्पोन्स अपरेशनसम्बन्धी तीन दिने विशेष तालिम सुरु भएको छ। महामारी नियन्त्रणका लागि समुदायमा खटिने इपिडेमिक कन्ट्रोल भोलुन्टियर तयार पार्ने उद्देश्यसहित आयोजित यस तालिममा ३० जना सहभागी छन्।
तालिममा स्वयमसेवक, महिला स्वयमसेवक, शिक्षक तथा रेडक्रस सोसाइटीका स्वयमसेवकहरूको सक्रिय सहभागिता रहेको छ। सहभागीहरूलाई महामारीका बेला कसरी प्रतिक्रिया दिने, समुदायमा स्वास्थ्य चेतना फैलाउने तरिका र १८ प्रकारका संक्रामक रोगबारे विस्तृत जानकारी प्रदान गरिएको छ।
तालिममा बहुदरमाई नगरपालिका तथा वीरगञ्ज महानगरपालिका वडा नं. १ देखि १६ सम्मका स्वयमसेवकहरूको उपस्थिति रहेको छ। सहभागीहरूले विभिन्न जोखिमयुक्त अवस्थामा अपनाउनुपर्ने सुरक्षा उपाय र समुदायमा रोग नियन्त्रणका प्रभावकारी तरिकाहरूको सीप हासिल गर्दैछन्।
नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यक्रम फोकल पर्सन उमेश मिश्राले भने, “महामारी रोकथाममा स्थानीय स्वयमसेवकको भूमिका अत्यन्त महत्वपूर्ण छ। यस्ता तालिमले समुदायस्तरमा दिगो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न मद्दत पुर्याउनेछ।”

















