Logo

६ मंसिर, काठमाडौँ । युरोपेली संसदमा रुस समर्थक अभिव्यक्ति दिनका लागि घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्सका पूर्वनेता नाथन गिललाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ ।

लन्डनस्थित ओल्ड बेली फौजदारी अदालतले सेप्टेम्बर महिनामा दोषी ठहर भएका गिललाई सोमबार कठोर सजाय निर्धारण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

अदालतका अनुसार गिलले एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ यूरो लिएको स्वीकार गरिसकेका छन्। सोही आदेशअनुसार उनले युरोपेली संसद तथा अन्तर्राष्ट्रिय विषयसँग सम्बन्धित संवेदनशील मुद्दामा लिखित बयान दिएका थिए भने टेलिभिजनमार्फत सार्वजनिक अभिव्यक्ति पनि प्रसारण गरेका थिए ।

सजाय सुनाउँदै न्यायाधीश बबी चीमा–ग्रबले गिलले “महत्त्वपूर्ण सार्वजनिक अधिकार र विश्वासको पदको दुरुपयोग” गरेको स्पष्ट गरेको बताए। अदालतका अभिलेखअनुसार गिलले विदेशी नागरिकबाट अवैध भुक्तानी स्वीकार गरे, उनीहरूको निर्देशनमा लिखित सामग्री तयार गरे र अन्य सांसदहरूलाई समेत संलग्न गराउने योजना बनाएका थिए।

गिल सन् २०१४ देखि २०२० सम्म यूकेइपी (UKIP) पार्टीका तर्फबाट सांसद रहेका थिए। अभियोजनकर्ताका अनुसार उनले सो अवधिमा झन्डै ४० हजार पाउण्ड (लगभग ५२ हजार अमेरिकी डलर) अवैध रूपमा प्राप्त गरेका थिए ।

विदेशी प्रभावमा परेर यूरोपेली नीति निर्माण प्रक्रियामा हस्तक्षेप गर्ने गम्भीर प्रयास भएको ठहरपछि अदालतले उनलाई लामो कैद सजाय सुनाएको हो । अदालतले यस्ता गतिविधिले लोकतान्त्रिक प्रणाली र विधिको शासनप्रति गम्भीर खतरा उत्पन्न गर्ने भएकाले कडा सजाय अनिवार्य रहेको टिप्पणी गरेको छ ।


सम्बन्धित समाचार