६ मंसिर,काठमाडौं । शुक्रबार दुबईमा आयोजित एयर सोका क्रममा भारतीय वायुसेनाको तेजस लडाकु विमान दुर्घटनाग्रस्त हुँदा पाइलट विङ कमान्डर नमांश स्यालको निधन भएको छ। स्थानीय समय अनुसार दिउँसो २ बजे दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान खसेर विष्फोट भएको थियो।
दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। भिडियोमा उडान भरेको केही समयमै तेजस विमान जमिनमा ठोक्किएर आगोको ठूलो ज्वाला र बाक्लो धुवाँ निस्किरहेको देखिन्छ।
दुर्घटनामा ज्यान गुमाउने पाइलट नमांश स्याल हिमाचल प्रदेशको कांगडा जिल्लाका बासिन्दा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सामाजिक सञ्जाल–ट्विटरमार्फत–नमांशप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, “तेजस विमान दुर्घटनामा कांगडाका बहादुर छोरा नमांश स्यालको मृत्यु भएको खबर अत्यन्तै दुःखद र हृदयविदारक छ। देशले एक साहसी र समर्पित पाइलट गुमाएको छ। म शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”
दुर्घटनाबारे विज्ञप्ति जारी गर्दै भारतीय वायुसेनाले भनेको छ, “दुबई एयर सोमा एरोबेटिक प्रदर्शनका क्रममा आईएएफको तेजस विमान दुर्घटनाग्रस्त भयो। दुर्घटनामा पाइलटको निधन भएको छ। भारतीय वायुसेना यस अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ र शोकसन्तप्त परिवारसँग सँगै उभिएको छ। दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी गठन गरिएको छ।”

















